वीरगन्ज,३० साउन । वीरगन्ज नाका हुँदै भारततर्फ बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ महिला तथा बालबालिकाको तीन वर्षको अवधिमा उद्धार गरिएको छ।
माइती नेपाल र प्रहरीको समन्वय तथा सक्रियतामा आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म वीरगन्ज नाकाबाट जोखिममा परेका उनीहरूको उद्धार गरिएको हो।
माइती नेपाल पर्साकी संयोजक गोमा पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७९ महिला र ३२ बालिकासहित १ सय ११ जना, २०८१/८२ मा १ सय ९ महिला र ६० बालिकासहित १ सय ६९ जना तथा गत आर्थिक वर्षमा ६३ महिला र ३५ बालिकासहित ९८ जनाको उद्धार गरिएको हो।
गत आर्थिक वर्षमा उद्धार गरिएका ९८ जनामध्ये १६ देखि १९ वर्ष उमेर समूहका ३५ जना र १९ वर्षभन्दा माथिका ६३ जना रहेका छन्। उनीहरूलाई वीरगन्ज नाकामै रोकेर अभिभावकको जिम्मा लगाई घर फर्काइएको पौडेलले जानकारी दिइन्।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै मधेस प्रदेशका ५१ जना रहेका छन्। त्यसमध्ये पर्साका २०, बाराका १६, सर्लाहीका ७, रौतहट, धनुषा र सप्तरीका २/२ तथा सिराहाका एक जना छन्। त्यस्तै बागमती प्रदेशका २२, कोशीका १०, गण्डकीका ५, लुम्बिनीका ४, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका एक जनाको उद्धार गरिएको माइती नेपालले जनाएको छ।
माइती नेपालकी संयोजक पौडेलका अनुसार पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको स्वरूप परिवर्तन हुँदै गएको छ। विशेषगरी १६ देखि १९ वर्ष उमेर समूहका किशोरी सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिसँग प्रेम सम्बन्धमा परेर भारत जाने क्रममा जोखिममा पर्ने गरेका छन्।
गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट उद्धार गरिएका ९८ जनामध्ये ३४ जना प्रेम सम्बन्धका कारण भारत जान लागेका थिए। यस्तै १५ जना घुम्न, १२ जना नेटवर्किङ कम्पनीमा काम गर्ने प्रलोभनमा, ११ जना आफू कहाँ र किन जाने भन्ने स्पष्ट जानकारी नभएको अवस्थामा, ९ जना सामान किन्न, ७ जना अन्य कामका लागि, ४ जना आफन्त भेट्न, ३ जना आर्केस्ट्रामा काम गर्न, २ जना उपचारका लागि र एक जना वैदेशिक रोजगारीका लागि भारत जान लागेको अवस्थामा रोकिएका थिए।
पौडेलले मानव बेचबिखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै जोखिममा रहेका समुदायमा सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताइन्।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले मानव बेचबिखन तथा ओसारपसारलगायत गतिविधि नियन्त्रणका लागि साउन १० गतेदेखि वीरगन्जसहित आसपासका ६ वटा सीमानाकामा १६ सदस्यीय ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बीआईटी) परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार उक्त टोलीले नागरिक सहायता कक्षमार्फत बिहान ५ बजेदेखि राति १२ बजेसम्म सीमा क्षेत्रमा निगरानी तथा आवश्यक सहजीकरण गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले मानव बेचबिखनजस्ता अपराध नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएको भन्दै स्थानीय तह, सञ्चारकर्मी, समाजसेवी र अन्य सरोकारवालाले समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।




