spot_img

सभापति र केन्द्रीय समितिको वैधानिकतामा कुनै अलमल छैन : विश्वप्रकाश शर्मा

spot_img
spot_img

काठमाडौं,३० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका शर्माले विधिपूर्वक सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत मान्यता दिएको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकतामाथि प्रश्न उठाउनु आवश्यक नरहेको बताएका हुन्।

उनले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्नेमा जोड दिँदै अदालतले पार्टीको केन्द्रीय समिति बदर नगरेको र गगन थापा नै सभापति रहेको विषय स्पष्ट भइसकेको बताए। उनले संस्थापन इतर समूहलाई अदालतको निर्णयलाई स्वीकार गर्दै अनावश्यक अन्योल सिर्जना नगर्न आग्रह गरे।

कांग्रेस विभाजन हुने आशंकालाई समेत शर्माले अस्वीकार गरे। पार्टीमा विधिको सर्वोच्चता कायम रहने बताउँदै उनले राजनीतिक निर्णयका विषयमा सम्बन्धित संवैधानिक निकायको निर्णय नै अन्तिम हुने धारणा राखे।

खेलको उदाहरण दिँदै शर्माले मैदानमा पहेँलो वा रातो कार्ड देखाउने अधिकार दर्शकलाई नभई रेफ्रीलाई मात्र भएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय गर्ने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतजस्ता सम्बन्धित निकायलाई मात्र हुने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय