spot_img

सडक विस्तारसँगै बीरगन्जका व्यापारी संकटमा

spot_img
spot_img

बीरगन्ज,३१ साउन । बीरगन्जकाे मुख्य सडकलाई २५ मिटर फराकिलो बनाउने उद्देश्यले भइरहेको सडक विस्तारको कामले मुख्य बजार क्षेत्रको व्यापार व्यवसाय प्रभावित भएको व्यापारीहरूले गुनासो गरेका छन्। सडक निर्माणका क्रममा ग्राहकको आवागमन घट्नुका साथै पसलअगाडि निर्माण सामग्री थुपारिँदा व्यवसायमा ठूलो असर परेको उनीहरूको भनाइ छ।

आदर्शनगर क्षेत्रका व्यापारीहरूका अनुसार सडक विस्तारसँगै विद्युत् र खानेपानीको समस्या पनि बढेको छ। गर्मीयाममा नियमित विद्युत् आपूर्ति नहुँदा तथा खानेपानी सहज रूपमा उपलब्ध नहुँदा व्यापारसँगै दैनिक जीवनसमेत प्रभावित भएको उनीहरूले बताएका छन्।

व्यापारीहरूका अनुसार केही दिनयता बजारमा ग्राहकको चहलपहल निकै घटेको छ। विगतमा व्यस्त रहने मुख्य सडकमा अहिले ग्राहकको उपस्थिति न्यून हुँदा व्यापारमा ठूलो गिरावट आएको उनीहरूको भनाइ छ।

सडक विस्तारका क्रममा पसलअगाडि इँटा, बालुवा, छडलगायतका निर्माण सामग्री राखिएका कारण ग्राहकलाई पसलसम्म पुग्नसमेत कठिन भएको व्यवसायीहरूले बताएका छन्। पसल खुले पनि सहज रूपमा प्रवेश गर्ने वातावरण नहुँदा बिक्री प्रभावित भएको उनीहरूको गुनासो छ।

व्यापार घटेपछि कर्मचारी व्यवस्थापनमा समेत समस्या देखिएको छ। पहिले १० जना कर्मचारीबाट सञ्चालन हुँदै आएको पसलमा अहिले खर्च धान्न नसकेर दुई जना मात्रै कर्मचारी राख्नुपर्ने अवस्था आएको एक व्यापारीले बताए। व्यापारमा कमी आएपछि कर्मचारीको तलब, पसल सञ्चालन खर्च तथा घरभाडा व्यवस्थापन गर्नसमेत कठिन भइरहेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूले सडक विस्तार आवश्यक भए पनि कामलाई व्यवस्थित र तीव्र गतिमा अघि बढाउनुपर्ने बताएका छन्। निर्माणस्थलमा आवश्यक सुरक्षा र आवागमनको व्यवस्था मिलाउँदै पसलअगाडि थुपारिएका निर्माण सामग्री तत्काल हटाउन उनीहरूले माग गरेका छन्।

आदर्शनगरका व्यापारीहरूले सडक विभाग तथा सम्बन्धित निकायलाई सडक विस्तारको काम छिटो सम्पन्न गर्न, मुख्य बजार क्षेत्र सफा राख्न तथा विद्युत् र खानेपानीको समस्या समाधान गर्न आग्रह गरेका छन्। सडक निर्माणसँगै व्यापारिक गतिविधि समेत सहज हुने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय