काठमाडौँ,३१ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाहरूको आन्दोलनलाई उपयोग गरेर नेपाललाई पुनः पुरानो राजनीतिक अवस्थातर्फ धकेल्ने प्रयास हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले जेनजी युवाको असन्तुष्टिलाई प्रयोग गरेर देशलाई ‘अँध्यारो युग’तर्फ फर्काउने र त्यसपछि नयाँ द्वन्द्व निम्त्याउने खेल हुनसक्ने बताएका हुन्। यस्तो परिस्थिति उत्पन्न भए नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामासमेत चुनौती आउन सक्ने उनको चेतावनी छ।
भट्टराईले संविधानसभाबाट जारी भएको संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक शक्तिहरू अहिले एकताबद्ध भएर उभिनुपर्ने बेला विभाजित हुँदै आ–आफ्नो बाटो रोज्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको एउटा पक्षको भेलाबाट पारित सार्वजनिक प्रस्तावप्रति संकेत गर्दै उनले विगतमा गरिएका राजनीतिक प्रतिबद्धता र निर्णयबाट पछि हट्ने प्रयास भइरहेको दाबी गरेका छन्। एक वरिष्ठ नेताले ‘धर्म भाकेको’ प्रसङ्गलाई समेत उनले अस्वाभाविक भन्दै राजनीतिक घटनाक्रममा केही रहस्यमय पक्ष रहेको संकेत गरेका छन्।
भट्टराईका अनुसार नेपालको संविधानका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र चार महत्वपूर्ण आधारस्तम्भ हुन्। यीमध्ये कुनै एउटा आधार कमजोर पारिए संविधानको समग्र संरचना नै संकटमा पर्न सक्ने उनको भनाइ छ।
उनले जेनजीसहित नेपाली युवाहरूले खोजेको सुशासन, विकास र समृद्धिको लक्ष्य संविधानका यिनै आधारमा टेकेर मात्रै हासिल गर्न सकिने बताएका छन्। पुरानो राजनीतिक व्यवस्थातर्फ फर्किएर वा नयाँ द्वन्द्व सिर्जना गरेर युवाहरूको अपेक्षा पूरा गर्न नसकिने उनको निष्कर्ष छ।
जेनजी विद्रोहको पहिलो वार्षिकी नजिकिँदै गर्दा भट्टराईले देशको राजनीतिक दिशाबारे सचेत रहन प्रबुद्ध युवा तथा लोकतन्त्रप्रति प्रतिबद्ध सबै पक्षलाई आग्रह गरेका छन्। उनले युवाहरूको आन्दोलन र परिवर्तनको चाहनालाई कुनै पनि शक्तिले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नदिनुपर्नेमा जोड दिएका छन्।




