spot_img

भाटभटेनीका स्टोर चौबिसै घण्टा सञ्चालन हुने

spot_img
spot_img

काठमाडौँ,३१ साउन । नेपालकै ठूलो खुद्रा व्यापार चेन भाटभटेनी सुपरस्टोरले काठमाडौँ उपत्यकामा आफ्ना केही स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने भएको छ। कम्पनीले भक्तपुरको राधेराधेस्थित स्टोरबाट यो सेवा सुरु गर्न लागेको हो।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भक्तपुर राधेराधेस्थित स्टोर सोमबारदेखि २४ घण्टा खुला रहनेछ। त्यसपछि ललितपुर र काठमाडौँका एक–एक स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

कम्पनीका अनुसार भक्तपुर स्टोर २४ घण्टा सञ्चालनमा आएको करिब एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित स्टोर र भदौको तेस्रो सातापछि काठमाडौँको टंगालस्थित स्टोरलाई पनि चौबिसै घण्टा सञ्चालन गरिनेछ।

रातभर खुला रहने स्टोरमा पहिलो तलामात्र सञ्चालन हुनेछ। उक्त तलामा मुख्यतः ग्रोसरी सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। सीमित क्षेत्र सञ्चालन हुने भएकाले रातिको समयमा आवश्यक कर्मचारी संख्या पनि तुलनात्मक रूपमा कम हुने बताइएको छ।

राति समेत ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको कम्पनीले जनाएको छ। साथै, स्टोर चौबिसै घण्टा सञ्चालन हुने विषयमा प्रहरी तथा प्रशासनलाई समेत जानकारी गराइएको प्रमुख सञ्चालन अधिकृत पौडेलले बताए।

काठमाडौँ उपत्यकाका तीन स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखराको एउटा स्टोरमा पनि यही सेवा विस्तार गर्ने भाटभटेनीको योजना छ। कम्पनीले यसबाट ग्राहकलाई आवश्यक सामान जुनसुकै समयमा खरिद गर्न थप सहज हुने अपेक्षा गरेको छ।

व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौँको टंगालबाट सुरु गरेको भाटभटेनीका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन्। कम्पनीका अनुसार वार्षिक कारोबार करिब ३२ अर्ब रुपैयाँ रहेको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

२०८२ सालको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। घटनाबाट अर्बौं रुपैयाँ बराबरको क्षति भए पनि कम्पनीले कर्मचारीको रोजगारी कटौती नगरी पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय