spot_img

बारामा तीन वर्षीया बालिकाको हत्या आरोपमा १६ वर्षीय किशोरसहित दुई पक्राउ

spot_img
spot_img

बीरगन्ज,०३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेर जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला पर्नेमा जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेकी छन् । प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन् ।

मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचनापछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको नेतृत्वमा समेत टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको छ । थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासहित म्याजिकका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय