काठमाडौं,०३ भदौ । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी घर भएका २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। उनलाई रामेछाप नगरपालिका–४ तिलबारीकी ६१ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना मंगलबार भएको हो। घटनापछि फरार रहेका बिसुंखेलाई बुधबार धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले तिलबारीस्थित लामो समयदेखि प्रयोगमा नरहेको घरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




