काठमाडौं,०३ भदाै । वैदेशिक रोजगारीका लागि अवैध बाटो प्रयोग गरेर विदेश पुगेका नेपालीको मृत्यु भएपछि शव स्वदेश ल्याउने प्रक्रिया निकै जटिल हुने गरेको छ। धादिङका ४२ वर्षीय सन्तोष राईको घटनाले पनि यसै समस्यालाई उजागर गरेको छ।
धादिङको धुनीबेँसीका राई रोजगारीका लागि गत भदौमा क्याम्बोडिया पुगेका थिए। त्यहाँ पुगेको करिब नौ महिनापछि वैशाख २८ गते हृदयाघातका कारण उनको मृत्यु भएको परिवारले जानकारी पाएको थियो। हाल उनको शव क्याम्बोडियास्थित एक अस्पतालको शवगृहमा रहेको छ।
राईको शव नेपाल ल्याएर जन्मथलोमै अन्तिम संस्कार गर्ने इच्छा उनकी श्रीमती जुनुले राखेकी छन्। शव स्वदेश ल्याउन उनले विभिन्न सरकारी निकाय, सांसद तथा स्थानीय जनप्रतिनिधिसँग सहयोगको आग्रह गर्दै आएकी छन्।
“उहाँलाई जीवितै फर्केको देख्न पाएनौँ, तर जन्मथलोमै अन्तिम संस्कार गर्न चाहन्छु,” जुनुले बताएकी छन्।
यस विषयमा प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका नेपालीको उद्धार तथा शव ल्याउने प्रक्रिया कानुनी रूपमा जटिल हुने बताएका छन्।
मन्त्री खनालका अनुसार वैधानिक प्रक्रियाबाट विदेश जाने नेपालीको वैदेशिक रोजगार विभागमार्फत बीमा हुने भएकाले मृत्यु वा उद्धारका अवस्थामा शव ल्याउने तथा राहत उपलब्ध गराउने प्रक्रिया तुलनात्मक रूपमा सहज हुन्छ। तर अवैध बाटोबाट विदेश पुगेकाहरूको हकमा त्यस्तो बीमा तथा औपचारिक अभिलेख नहुने भएकाले प्रक्रिया जटिल बन्ने उनको भनाइ छ।
मन्त्रीको जवाफपछि धादिङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले थप कुरा राख्न खोजे पनि सभामुख डीपी अर्यालले उनलाई समय दिएनन्। मन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट देखिएकी तामाङ त्यसपछि आक्रोशित मुद्रामा संसद् बैठकबाट बाहिरिएकी थिइन्।
सन्तोष राईको शव लामो समयदेखि विदेशमै रहँदा परिवारले भोगिरहेको पीडाले अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्यु वा दुर्घटनापछि उद्धार र शव व्यवस्थापनका लागि राज्यको भूमिका तथा वैकल्पिक व्यवस्थाबारे प्रश्न उठाएको छ।




