बारा,०५ भदाै । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको लापरबाही भएको भन्दै स्थानीयस्तरमा विरोध चर्किएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले डीएसपी क्षेत्रीलाई काठमाडौं तानेर उनको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई सिमरा पठाएको छ । भट्ट यसअघि प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए । घटनाकै विषयमा इलाका प्रहरी कार्यालय सिमराका इन्सपेक्टर प्रकाश थापालाई पनि जिम्मेवारीबाट हटाइएको छ ।
गरिमा हराएपछि उनको खोजीमा प्रहरीले गम्भीरता नदेखाएको भन्दै स्थानीयले प्रहरीमाथि प्रश्न उठाएका थिए । बालिकाका परिवारले समयमै प्रहरीमा जानकारी गराए पनि खोजी कार्य प्रभावकारी नभएको स्थानीयको आरोप छ ।
घटनाप्रति आक्रोशित जितपुर–सिमरा उपमहानगरपालिकाका स्थानीयले बुधबारदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरूले प्रहरीको लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाउँदै डीएसपी क्षेत्रीसहित सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका थिए ।
विरोधका क्रममा बिहीबार सिमरा क्षेत्रका सडकमा यातायात अवरुद्ध हुनुका साथै उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द गरिएका थिए ।
गरिमा हत्या प्रकरणलाई लिएर काठमाडौंमा समेत बिहीबार प्रदर्शन भएको थियो । घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठिरहेका बेला प्रहरी प्रधान कार्यालयले सिमराका प्रमुखसहित दुई प्रहरी अधिकारीलाई जिम्मेवारीबाट हटाएको हो ।





