काठमाडौं,०८ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ।
महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन्।
यसअघि गत शुक्रबार देउवा र खड्काको तर्फबाट सर्वोच्चमा दुईवटा छुट्टाछुट्टै रिट पेश गरिएको थियो। प्रशासनले थप अध्ययन आवश्यक रहेको भन्दै ती निवेदन फिर्ता पठाएको थियो। त्यसपछि आवश्यक परिमार्जनसहित सोमबार पुनः रिट पेश गरिएको हो।
सर्वोच्च अदालत प्रशासनका अनुसार कांग्रेसको १५औँ महाधिवेशनका कार्यक्रम रोक्न माग गरिएका दुई निवेदन अध्ययनकै क्रममा छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार खड्काको तर्फबाट यसअघि दायर भएको मुद्दामा पूरक निवेदनसमेत पेश भएको छ।
देउवाले अन्तरिम आदेश जारी गरी कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। खड्काले पनि महाधिवेशनसम्बन्धी कार्यक्रम रोक्न माग गर्दै पूरक निवेदन दिएका छन्।
यसैबीच, खड्काको पछिल्लो कदमलाई लिएर कांग्रेसभित्रै चर्चा बढेको छ। साउन २९ देखि ३१ गतेसम्म चलेको इतर पक्षको राष्ट्रिय भेलाको समापन कार्यक्रममा खड्का सहभागी नभएपछि उनको भूमिकाबारे प्रश्न उठेको थियो। त्यसपछि खड्काले आफूले सर्वोच्च अदालतमा कुनै रिट दायर नगरेको बताएका थिए।
महाधिवेशनको प्रक्रिया, नेतृत्व चयन र पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतसम्म पुगेपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद थप जटिल बनेको छ। अब सर्वोच्च प्रशासनले रिट दर्ता गर्ने वा नगर्नेबारे अध्ययनपछि निर्णय गर्नेछ।




