गण्डकी,०९ भदौ । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ। बदलिएको राजनीतिक परिस्थितिअनुसार आगामी रणनीति तय गर्न एमालेले नेकपालगायत अन्य दलसँग संवाद अघि बढाउने भएको छ।
एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेको अवस्थामा गण्डकीमा पनि नयाँ सरकार गठनका लागि दुई दलबीच सहकार्यको पहल अघि बढाइने थापा मगरले बताउनुभयो।
हाल कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ।
गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरपछि उहाँहरूले मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।




