काठमाडौं,०९ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्।
देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले दुवै निवेदन दर्ता भएको पुष्टि गरेका छन्।
निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गरिएको छ। कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले सुरुदेखि नै सुनुवाइ गर्न अनुमति दिए पनि त्यसलाई बेवास्ता गर्दै महाधिवेशन प्रक्रिया अघि बढाइएको निवेदकहरूको दाबी छ।
यसै विषयलाई लिएर इतर समूहले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन दर्ता गराएको हो।
सर्वोच्चका प्रवक्ता कोइरालाका अनुसार दुवै निवेदनमाथि भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
कांग्रेसको आधिकारिकता, नेतृत्व र महाधिवेशन प्रक्रियालाई लिएर लामो समयदेखि जारी आन्तरिक विवाद पछिल्लो निवेदनसँगै पुनः सर्वोच्च अदालतमा पुगेको छ।




