spot_img

प्रचण्डसँग भेटपछि बागमतीका असन्तुष्ट नेकपा सांसद थापालाई विश्वासको मत दिन तयार

spot_img
spot_img

हेटौंडा,०९ भदौ । बागमती प्रदेशमा सत्तारुढ नेकपाभित्र असन्तुष्ट रहेका सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने सहमति गरेका छन्।

नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल, गंगानारायण श्रेष्ठसहित आठ जना सांसदले मंगलबार काठमाडौंमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्। भेटमा सत्ता साझेदारी, मन्त्रालय बाँडफाँड, सरकार सञ्चालन र गठबन्धनको स्थायित्वलगायत विषयमा छलफल भएको थियो।

भेटमा सांसदहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता साझेदारी गरेर सरकार गठन गर्नुपर्ने अवस्था, त्यसमा नेकपाको हैसियतअनुसार शक्ति बाँडफाँड भए–नभएको र सरकार सञ्चालनको विषयमा अध्यक्ष प्रचण्डसँग प्रश्न गरेका थिए।

उपनेता खनालका अनुसार सांसदहरूले बागमती प्रदेशमा मन्त्रालयको संख्या आठभन्दा बढी बनाउन नहुने र त्यसैभित्रबाट नेकपाले तीन मन्त्रालय तथा सभामुखको जिम्मेवारी पाउनुपर्ने माग राखेका छन्। सत्ता साझेदारीमा पार्टीको हैसियतअनुसार शक्ति बाँडफाँड हुनुपर्ने उनीहरूको जोड छ।

हालको भागबण्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित दुई, नेकपाले सभामुखसहित दुई र राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको छ। नेकपाले पाएका दुईमध्ये एक मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका छन्। असन्तुष्ट सांसदहरूले भने थप दुई मन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले संसदीय दलका नेता, उपनेता तथा पार्टीका प्रमुख नेताहरूलाई समेत सहभागी गराएर प्रदेश सरकारमा शक्ति बाँडफाँडको विषयमा साझा सहमति खोज्न अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्। प्रचण्डले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता साझेदारी र शक्ति बाँडफाँडका विषयमा संयुक्त रूपमा छलफल गर्ने प्रतिबद्धता जनाएको सांसदनिकट स्रोतले बताएको छ।

यसैबीच असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय गरेका छन्। सोमबार विश्वासको मत लिने तयारी गरिएको प्रदेशसभा बैठकमा उपनेता खनाल, मुख्यमन्त्रीका दाबेदार श्रेष्ठलगायत केही सांसद अनुपस्थित भएपछि नेकपाभित्रको विवाद सार्वजनिक भएको थियो। बैठक तीन पटकसम्म स्थगित हुँदा पनि विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्न सकेको थिएन।

नेकपाभित्र रिक्त सभामुख पद र सरकारमा बाँकी रहेको एक मन्त्री पदलाई लिएर समेत प्रतिस्पर्धा छ। सभामुखका लागि खनाल र श्रेष्ठसहित केही सांसदको दाबी रहेको छ भने रत्नप्रसाद ढकालको नाम पनि चर्चामा छ।

सरकारमा नेकपाले पाएका दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा पूर्वमाओवादी पृष्ठभूमिका सरल सहयात्री पौडेललाई पठाइसकिएको छ। बाँकी एक मन्त्रीका लागि भने पूर्वएकीकृत समाजवादी पृष्ठभूमिका सांसदलाई पठाउनुपर्ने माग पार्टीभित्र उठेको छ।

यसअघि नेकपाका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले पार्टीभित्र पर्याप्त छलफल नगरी एकलौटी निर्णय गरेको र अवसर बाँडफाँडमा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई प्राथमिकता दिएको भन्दै केही सांसद असन्तुष्ट बनेका थिए।

१०४ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। असन्तुष्ट नेकपा सांसदहरूले विश्वासको मत दिने निर्णय गरेसँगै तत्कालका लागि मुख्यमन्त्री थापामाथिको संकट टरे पनि सरकार सञ्चालन र शक्ति बाँडफाँडको विवाद भने कायमै रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय