काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फेरेन्समा सहभागी हुन आज राति कम्बोडिया प्रस्थान गर्ने भएका छन्।
अध्यक्ष दाहाल राति पौने ११ बजे मलेसियाको राजधानी क्वालालम्पुर हुँदै कम्बोडियाको नोम पेन जानेछन्। उनी भोलि बिहान नोम पेन पुग्ने कार्यतालिका रहेको छ।
भदौ १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनका क्रममा उनले विभिन्न देशका प्रतिनिधिमण्डलका नेतृत्वसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन्।
दाहालसँग संसद् सचिवालयका उपसचिव भानु पोख्रेल पनि भ्रमणमा सहभागी हुनेछन्।




