काठमाडौं,१० भदाै । तिब्बततर्फबाट आएको बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि त्यसको प्रभाव बुधबारको सेयर बजारमा देखिएको छ । जलविद्युत् र निर्जीवन बीमा समूहमा उच्च गिरावट आउँदा नेप्से परिसूचक ३५.९२ अंकले घटेको छ ।
बुधबारको कारोबारपछि नेप्से २ हजार ५५८ अंकमा झरेको छ । बजारमा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढी हो ।
आज कुल २७८ कम्पनीको कारोबार हुँदा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बाढीबाट एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा असर परेको खबर सार्वजनिक भएपछि जलविद्युत् समूहको सूचक २.८४ प्रतिशतले घटेको छ । त्यस्तै, आयोजनामा भएको क्षतिको बीमा दाबी बढ्न सक्ने अनुमानसँगै निर्जीवन बीमा समूह ३.९० प्रतिशतले घटेको छ ।
बुधबार बैंकिङ ०.७४, विकास बैंक ०.८४, फाइनान्स १.१०, होटल तथा पर्यटन ०.५४, लगानी १.३१, जीवन बीमा १.५२, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.९१, अन्य १.४४ र व्यापार समूह ०.०४ प्रतिशतले घटेका छन् ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । अपरहेवाखोला जलविद्युत्को १०.४३ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ३.२१ प्रतिशतले मूल्य बढेको छ ।
यता, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका कम्पनीको सेयर मूल्यमा भने उच्च गिरावट आएको छ । रसुवागढी जलविद्युत्को मूल्य १५ प्रतिशतले घटेको छ भने मैलुङखोला जलविद्युत्को १४.९९, त्रिशूली जलविद्युत्को १२.९५, माथिल्लो मैलुङखोलाको ११.५६ र सान्जेन जलविद्युत्को ११.१८ प्रतिशतले घटेको छ ।
त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १०.८५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा चिलिमे जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिडी पावर अगाडि रहेका छन् ।




