spot_img

रसुवागढी बाढी–पहिरोमा १६५ जनाको मृत्यु, ८५६ अझै सम्पर्कविहीन

spot_img
spot_img

काठमाडौँ । नेपाल–चीन सीमा नजिक रसुवागढी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८५६ जना अझै सम्पर्कविहीन छन्।

फेला परेका शवमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ जना रहेका छन्।

सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, ५७९ जना नेपाली तथा विदेशी पर्यटक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। विपद्मा परी हालसम्म ७३ जना घाइते भएका छन्।

बाढीले भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ। हालसम्म ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

विपद्मा फसेकाहरूको उद्धारका लागि नेपाली सेना तथा सिभिल हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म २३९ जनाको हवाई उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७ हजार ४१५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ। सरकारले विपद्मा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने तथा मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक, विद्युत् र दूरसञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने निर्णयसमेत सरकारले गरेको छ। उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिइने सरकारले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय