काठमाडौँ,११ भदौ । रसुवामा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकाले गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै बाढीमा ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, विपद्को यस घडीमा अमेरिका नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसमार्फत बाढी प्रभावितलाई आपत्कालीन आश्रय, राहत सामग्री, खानेपानी तथा सरसफाइसम्बन्धी सहायता उपलब्ध गराउन उक्त रकम प्रदान गर्ने जनाएको हो।
बाढीपछिको अवस्थाको अनुगमन तथा राहत र पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न अमेरिकाले एक ‘विपद् प्रतिकार्य सल्लाहकार’लाई प्रभावित क्षेत्रमा खटाउने पनि जनाएको छ।
यसैबीच, प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकलाई स्थानीय समाचार तथा सूचनामा ध्यान दिन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र सुरक्षा तथा आपत्कालीन सूचना प्राप्त गर्न ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ (एसटीइपी) मा दर्ता हुन अमेरिकी सरकारले आग्रह गरेको छ।
आपत्कालीन सहयोग आवश्यक परेमा अमेरिकी नागरिकलाई दूतावासको इमेल वा तोकिएका हटलाइनमार्फत सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।




