spot_img

अदालतको आदेशविपरीत भेरी अस्पतालमा साझा फार्मेसी सञ्चालन ! मेसु दर्नालसँग जवाफ माग

spot_img
spot_img

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा साझा स्वास्थ्य सेवाको फार्मेसी सञ्चालन हुँदै आएको विषयमा कानुनी र प्रशासनिक प्रश्न उठेको छ। अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था तथा सर्वोच्च अदालतबाट प्रतिपादित आदेशको मर्मविपरीत बाह्य पक्षको फार्मेसीलाई अस्पताल परिसरमा निरन्तरता दिइएको हो कि होइन भन्ने विषयमा प्रश्न उठेको हो।

सर्वोच्च अदालतको रिट नं. ०७१–WO–०९६१ बाट प्रतिपादित आदेश तथा अस्पताल फार्मेसीसम्बन्धी सरकारी व्यवस्थाले अस्पतालभित्र आफ्नै फार्मेसी सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिएको अवस्थामा भेरी अस्पतालमा साझा स्वास्थ्य सेवाको फार्मेसी सञ्चालनको आधार के हो भन्ने प्रश्न उठेको छ।

यस विषयमा प्रश्न साझा स्वास्थ्य सेवाका जिम्मेवार पक्षसँग मात्रै सीमित छैन। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालसँग समेत सम्झौता, नवीकरण र कानुनी आधारबारे स्पष्ट जवाफ मागिएको छ।

साझा फार्मेसीसँगको सम्झौता सकिएको हो भने त्यसपछि पनि सञ्चालनको अनुमति कसले दियो? सम्झौता नवीकरण भएको हो भने त्यसको कानुनी आधार र निर्णय के हो? भन्ने प्रश्न अहिले चर्चामा छ।

त्यसैगरी फार्मेसीको कारोबारलाई लिएर पनि थप प्रश्न उठेको छ। अस्पतालको आफ्नै फार्मेसीबाट दैनिक करिब दुई लाख रुपैयाँ बराबरको औषधि बिक्री हुने गरेको दाबी भइरहँदा साझा फार्मेसीको दैनिक कारोबार करिब चार लाख रुपैयाँसम्म पुग्ने गरेको बताइएको छ। यद्यपि यी कारोबारसम्बन्धी तथ्यांकको आधिकारिक पुष्टि आवश्यक छ।

यदि उक्त विवरण सही हो भने अस्पतालको आफ्नै फार्मेसीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने अवस्थामा बाह्य फार्मेसीलाई निरन्तरता दिनुको कारण के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यसको स्पष्टता दुई वर्षको बिक्री विवरण, सम्झौता, नवीकरणका निर्णय तथा राजस्व अभिलेख सार्वजनिक गरेर दिनुपर्ने माग गरिएको छ।

यसैबीच, १४ अगस्ट २०२६ मा साझा स्वास्थ्य सेवा, नेपालगञ्जबाट जारी बिल नं. SNDPNC-011990 मा ‘Billed By: Pavitra’ उल्लेख रहेको र उक्त बिलमा New Bonestat Frac लगायत सामग्री बिक्री भएको देखिएको दाबी गरिएको छ।

यसले अस्पताल परिसरमा औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्री बिक्री गर्ने व्यक्तिको योग्यता, बिक्री गरिएका सामग्रीको कानुनी हैसियत तथा त्यसको नियमन कसले गरिरहेको छ भन्ने विषयमा समेत प्रश्न उठाएको छ।

सम्बन्धित पक्षले भने यी विषयमा आवश्यक कागजात र आधिकारिक विवरण सार्वजनिक गरी वास्तविकता स्पष्ट गर्नुपर्ने देखिन्छ।

भेरी अस्पताल सार्वजनिक अस्पताल भएकाले अस्पताल परिसरमा सञ्चालन हुने कुनै पनि फार्मेसीको कानुनी आधार, सम्झौता, सञ्चालन अनुमति, कारोबार र नियमन प्रक्रिया पारदर्शी हुनुपर्ने माग उठेको छ। अस्पताल प्रशासनले सर्वोच्च अदालतको आदेश, प्रचलित फार्मेसीसम्बन्धी व्यवस्था र आफ्नै फार्मेसीको सञ्चालन अवस्थाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय