नेपालगञ्ज । सर्वोच्च अदालतको रिट नं. ०७१–WO–०९६१ बाट प्रतिपादित आदेश तथा अस्पताल फार्मेसीसम्बन्धी सरकारी व्यवस्थाले अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरमा बाह्य पक्षबाट फार्मेसी सञ्चालन गराउने विषयमा गम्भीर प्रश्न उठाएको अवस्थामा पनि नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा साझा स्वास्थ्य सेवाको फार्मेसी निरन्तर सञ्चालनमा रहनु आफैंमा गम्भीर प्रश्न बनेको छ।
प्रश्न अब साझा स्वास्थ्य सेवाका जिम्मेवार वीरबहादुर पौडेलतर्फ मात्र होइन, भेरी अस्पतालका मेसु डा. नवीन दर्नालतर्फ पनि सोझिएको छ—अदालतको आदेश र अस्पताल फार्मेसीसम्बन्धी व्यवस्थाको मर्मअनुसार अस्पतालकै फार्मेसी सञ्चालन गर्नुपर्ने अवस्थामा साझा फार्मेसीलाई भेरी अस्पतालभित्र निरन्तरता दिने आधार आखिर के हो?
सम्झौता सकिएको हो भने कसको निर्णयमा सञ्चालन भइरहेको छ?
नवीकरण भएको हो भने कुन कानुनी आधारमा?
झन् गम्भीर प्रश्न आर्थिक कारोबारले उठाएको छ। अस्पतालको आफ्नै फार्मेसीबाट दैनिक करिब दुई लाख रुपैयाँको औषधि बिक्री हुने तर साझा फार्मेसीको कारोबार करिब चार लाख रुपैयाँसम्म पुग्ने गरेको दाबी छ। यदि यो तथ्यांक सही हो भने अस्पतालको आफ्नै फार्मेसीलाई बलियो बनाउनुपर्ने अवस्थामा साझा फार्मेसीलाई नै निरन्तरता दिनुमा कुनै आर्थिक स्वार्थ वा साँठगाँठ त छैन?
भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यसको जवाफ अनुमानले होइन, दुई वर्षको बिक्री विवरण, सम्झौता र राजस्व अभिलेख सार्वजनिक गरेर भेरी अस्पताल प्रशासनले दिनुपर्छ।
त्यसमाथि १४ अगस्ट २०२६ मा साझा स्वास्थ्य सेवा नेपालगञ्जबाट जारी भएको बिल नं. SNDPNC-011990 मा ‘Billed By: Pavitra’ उल्लेख छ। सोही बिलमा New Bonestat Frac सहित अन्य सामग्री बिक्री भएको देखिन्छ। अब प्रश्न छ—बिल काट्ने तथा बिक्री गर्ने व्यक्तिको फार्मेसीसम्बन्धी योग्यता के हो? अस्पताल परिसरमा बिक्री भइरहेको सामग्रीको कानुनी हैसियत के हो? र यस्तो बिक्रीको
नियमन कसले गरिरहेको छ?
अब प्रश्न एउटै छ—
सर्वोच्च अदालतको आदेश, अस्पताल फार्मेसीसम्बन्धी व्यवस्था र आफ्नै फार्मेसी हुँदाहुँदै भेरी अस्पतालमा साझा फार्मेसी किन जोगाइराखिएको छ?




