बीरगन्ज,१७ भदौ । कलैया उपमहानगरपालिकालाई सुरक्षित, व्यवस्थित र अपराधरहित सहरका रूपमा विकास गर्न माग गर्दै स्थानीय युवाहरूले नगर प्रमुख विनोद साहलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
विभिन्न राजनीतिक तथा गैरराजनीतिक समूह, पेसाकर्मी, विद्यार्थी र युवाहरूको सहभागितामा नगर प्रमुख साहलाई ज्ञापनपत्र बुझाउँदै कलैयाको सुरक्षा, पूर्वाधार तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन माग गरिएको हो।
ज्ञापनपत्रमा विगत केही वर्षमा सञ्चालन भएका विकास परियोजनाले जनस्तरमा अपेक्षित परिवर्तन ल्याउन नसकेको भन्दै युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय कलैयामा असुरक्षा बढेको महसुस भइरहेको, सडकबत्ती पर्याप्त नभएको तथा रातको समयमा प्रभावकारी सुरक्षा गस्ती र आधुनिक प्रविधिको प्रयोग हुन नसकेको उनीहरूको भनाइ छ।
युवाहरूले कलैयामा २४ घण्टा डिजिटल निगरानी हुने गरी एआई प्रविधिमा आधारित सुरक्षा निगरानी प्रणाली तथा उच्च गुणस्तरका सीसीटीभी क्यामेरा जडान गर्न माग गरेका छन्। उनीहरूले फेस डिटेक्सन/रिकग्निसन, नाइट भिजन र एन्टी-ग्लेयर प्रविधिसहितको सुरक्षा प्रणाली स्थापना गर्न आग्रह गरेका छन्।
त्यस्तै, नगरका सबै सडक, गल्ली तथा चोकमा पर्याप्त र गुणस्तरीय सडकबत्ती जडान गर्न तथा आवश्यक स्थानमा सोलार स्ट्रीट लाइटको व्यवस्था गर्न माग गरिएको छ।
रात्रीकालीन सुरक्षा प्रभावकारी बनाउन नगर प्रहरी, नेपाल प्रहरी तथा जिल्ला प्रशासनसँग समन्वय गरी संयुक्त सुरक्षा गस्ती सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।
युवाहरूले कलैयामा मोबाइल एम्बुलेन्ससहितको द्रुत आपतकालीन सेवा प्रणाली स्थापना गर्न, लागुऔषध नियन्त्रणका लागि रोकथाम, जनचेतना, पुनर्स्थापना तथा निगरानीका कार्यक्रम सञ्चालन गर्न र युवालाई लागुऔषधबाट जोगाउने प्रभावकारी योजना ल्याउन माग गरेका छन्।
यसैगरी, स्थानीय युवालाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्न सहुलियतपूर्ण वा बिनाधितो ऋण तथा आवश्यकताअनुसार ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ।
ज्ञापनपत्रमा आकाश साह, मनिष यादव, नेजामुदिन अंसारी, चन्दन ठाकुर, प्रविन पटेल, प्रभात सिंह, जाबेद अंसारी, सदाम अंसारी, राम यादव, दीपक यादवलगायत विभिन्न वडाका युवाहरूले हस्ताक्षर गरेका छन्।
युवाहरूले आफूहरूले अघि सारेका माग तत्काल सम्बोधन नभए नागरिकको आवाजलाई थप सशक्त बनाउन संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन्।




