सल्यान,१७ भदौ । सल्यानको शारदा नगरपालिका–३ बडाखोलास्थित एमएम एकेडेमीमा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थीले आफ्नो खाजाखर्च कटाएर भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका छन्।
विद्यालयमा गठित बाल क्लबमा आबद्ध विद्यार्थीले खाजाखर्चबाट बचाएको २९ हजार २५ रुपैयाँ बाढी प्रभावितको राहतका लागि उपलब्ध गराएका हुन्।
त्यसैगरी, विद्यार्थीले विद्यालय पोसाकमै खलङ्गा साहुटोला बजार पुगेर आर्थिक सहयोग संकलनसमेत गरेका थिए। बजारबाट उनीहरूले थप २७ हजार ९ सय ६५ रुपैयाँ संकलन गरेका छन्।
बाढीपीडितको पीडामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले खाजाखर्च कटाएर सहयोग गरेको विद्यार्थीहरूले बताएका छन्।
विद्यालय सञ्चालक महेश देवकोटाका अनुसार बाल क्लबमा आबद्ध विद्यार्थीले मानवीय भावनासहित बाढीपीडितका लागि रकम संकलन गरेका हुन्। विद्यार्थीले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले जानकारी दिए।
विद्यालयका शिक्षकहरूले पनि राहत कोषमा ३८ हजार रुपैयाँ र विद्यालयको तर्फबाट ३८ हजार ८ सय २० रुपैयाँ सहयोग गरिएको देवकोटाले बताए।
यसरी एमएम एकेडेमीका विद्यार्थी, शिक्षक र विद्यालयको तर्फबाट बाढीपीडितका लागि कुल १ लाख ४३ हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको छ।




