spot_img

रसुवाको विपद् सिंगो नेपालको साझा पीडा हो : प्रधानमन्त्री शाह

spot_img
spot_img

बीरगन्ज,१७ भदौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्लाई सम्पूर्ण नेपालीको साझा पीडाका रूपमा लिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लामा मात्र सीमित नरहेको बताए। उनले यो विपद् ‘सिंगो नेपालको छातीमा परेको बज्रपात’ भएको उल्लेख गरे।

बाढीका कारण आफन्त गुमाएका तथा आफ्ना प्रियजनको अवस्था थाहा पाउन पर्खिरहेका नागरिकको पीडा सरकारले गम्भीरतापूर्वक महसुस गरेको उनले बताए। विपद्को यस्तो कठिन समयमा सरकारका कुनै पनि संयन्त्र थकित भएर बस्ने अवस्था नरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र र प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए। शोक र पीडालाई शक्तिमा रूपान्तरण गर्दै नागरिकको जीवन रक्षा तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकार निरन्तर खटिरहेको उनले बताए।

उनले विपद्को यस कठिन घडीमा राजनीतिक दल, जनप्रतिनिधि तथा आम नागरिकलाई संयमित र एकताबद्ध भएर राहत, उद्धार तथा पुनरुत्थानका कार्यमा जुट्नसमेत आह्वान गरे।

प्रधानमन्त्री शाहले विपद्पछिको पुनर्निर्माण र प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय