spot_img

विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापना सबैको साझा कर्तव्य : आङ्देम्बे

spot_img
spot_img

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्दै आङ्देम्बेले भोटेकोशी बाढीपछि आफू र आफ्नो दलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिए। उनले घटनाबारे प्रधानमन्त्री र सभामुखलाई समेत जानकारी गराउँदै तत्काल संसद् बैठक बोलाउन आग्रह गरिएको बताए।

‘विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य हो,’ आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस सरकारको साथमा छ र विपद्को पीडा भोगिरहेका परिवारको साथमै छ।’

तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले स्पष्ट पारे। सरकारको काम राम्रो भए समर्थन गर्ने र कमजोरी देखिए प्रश्न तथा खबरदारी गर्ने कांग्रेसको भूमिका रहने उनको भनाइ थियो।

‘राम्रो काम गर्छ भने साथ र समर्थन छ, बाटो बिराउँछ भने प्रश्न र खबरदारी पनि हुन्छ,’ उनले भने।

बाढी गएको एक साता बितिसक्दा पनि सबै अवस्था सामान्य भइसकेको भन्न नमिल्ने भन्दै आङ्देम्बेले सरकारलाई कमजोर बनाउने नभई प्रभावकारी ढंगले प्रश्न गर्ने आफ्नो उद्देश्य रहेको बताए। नागरिकको जीवनसँग जोडिएको विषयलाई गालीगलौज नभई समीक्षा र जवाफदेहिताको विषयका रूपमा लिनुपर्ने उनले बताए।

उनले सरकारको ध्यानाकर्षण गराउँदै खोज तथा उद्धारमा भएको ढिलाइलाई गम्भीर विषयका रूपमा उठाए। साथै, उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहयोग लिनसमेत ढिलाइ भएको उनको आरोप थियो।

गृहमन्त्री आफैँ सुरुङ खन्न गएको प्रसङ्ग उल्लेख गर्दै आङ्देम्बेले आफ्नै परिवारका सदस्य उक्त सुरुङमा परेको भए गृहमन्त्री स्वयं त्यहाँ जानुहुन्थ्यो कि उद्धार टोली परिचालन गर्नुहुन्थ्यो भन्ने प्रश्न गरे। विपद्को समयमा व्यक्तिगत उपस्थितिभन्दा उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र संयन्त्रको प्रभावकारी परिचालन प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय