सिरहा,१७ भदौ । सिरहा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४५ हजार रुपैयाँ सहयोग गरेका छन्।
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि कैदीबन्दीहरूले स्वेच्छाले रकम संकलन गरी सहयोग गरेका हुन्।
कारागार कार्यालय सिरहाका अनुसार कैदीबन्दीहरूले बुधबार राष्ट्रिय वाणिज्य बैंक सिरहामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ४५ हजार रुपैयाँ जम्मा गरेका छन्।
बाढीबाट ज्यान गुमाएकाहरूप्रति कारागारका कर्मचारी तथा कैदीबन्दीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको सकुशल उद्धारको कामनासमेत गरेका छन्।
कारागार प्रशासक विकल श्रेष्ठले विपद्को समयमा मानवीय सहयोगका लागि रकम जुटाएर सहयोग गरेको भन्दै सिरहा कारागारमा रहेका सम्पूर्ण कैदीबन्दीप्रति धन्यवाद व्यक्त गरेका छन्।




