spot_img

नेपालको बाढीपछि बिहारमा माछाको जोखिम, नखान मत्स्य निर्देशनालयको आग्रह

spot_img
spot_img

काठमाडौं,१७ भदाै । नेपालमा आएको विनाशकारी बाढीको असर भारतको बिहारसम्म पुगेको छ। बाढीको तीव्र बहावसँगै गण्डकसहित बिहारका विभिन्न नदी तथा जलस्रोतमा ठूलो संख्यामा माछा बगेर आएपछि बिहारको मत्स्य निर्देशनालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

निर्देशनालयले बाढीको पानीसँगै नदी तथा जलस्रोतमा बगेर आएका माछा तत्काल नखान अपिल गरेको हो। बाढीका क्रममा नदीको पानीमा मरेका जीवजन्तु, लेदो, फोहोर तथा अन्य जैविक अवशेष मिसिएकाले त्यस्ता माछा दूषित हुन सक्ने आशंका गरिएको छ।

नेपालमा भएको भारी वर्षा र बाढीपछि गण्डक नदीमा माछासँगै पशु तथा अन्य जैविक अवशेषसमेत बगेर आएको जनाइएको छ। बिहारतर्फ गण्डक नदीको किनारमा रहेका केही क्षेत्रमा शवसमेत देखिएको सूचना आएपछि नदीको पानीको गुणस्तर प्रभावित भएको र त्यसको असर माछामा समेत पर्न सक्ने मत्स्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार बाहिरबाट हेर्दा स्वस्थ देखिने माछा पनि दूषित हुन सक्ने भएकाले परीक्षण नगरी त्यस्ता माछा खानु सुरक्षित नहुन सक्छ। विशेषगरी नदीबाट सिधै समातिएका तथा बाढीसँगै बगेर आएका माछाको खरिद, बिक्री र उपभोगमा थप सावधानी अपनाउन आग्रह गरिएको छ।

बाढीपछि बिहारका केही क्षेत्रमा अस्वाभाविक आकारका माछासमेत ठूलो संख्यामा भेटिन थालेका छन्। अचानक माछाको उपलब्धता बढेपछि ती माछा स्थानीय बजारसम्म पुग्न थालेको बताइएको छ। परीक्षणविना त्यस्ता माछा बजारमा बिक्री भएर उपभोग भए खाद्य सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै निर्देशनालयले चिन्ता व्यक्त गरेको छ।

यस विषयमा सर्वसाधारणलाई सचेत गराउन मत्स्य निर्देशनालयले सूचना तथा जनसम्पर्क निर्देशनालयलाई पत्राचारसमेत गरेको छ। बाढीको पानीसँगै आएका माछाको सेवन नगर्न तथा परीक्षणविना त्यस्ता माछा बजारमा बिक्री–वितरण नगर्न जनचेतनामूलक सूचना प्रवाह गर्न आग्रह गरिएको छ।

निर्देशनालयले माझी तथा सर्वसाधारणलाई बाढीको पानीबाट सिधै समातिएका माछाको खरिद–बिक्रीमा सावधानी अपनाउन र विभागीय निर्देशन पालना गर्न आग्रह गरेको छ। हालका लागि बाढीसँगै आएका माछा उपभोगमा हतार नगर्न र परीक्षणपछि मात्र सेवन गर्न निर्देशनालयले सुझाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय