spot_img

बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

spot_img
spot_img

काठमाडौं,१७ भदाै । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका प्रभावित क्षेत्रका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढीबाट प्रभावित विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द छन्। बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था कहिलेदेखि सञ्चालन गर्ने भन्ने यकिन नभएको जनाएका छन्।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकसमेत प्रभावित हुनुका साथै विद्यालय भवन, सडक र पुलमा क्षति पुगेकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बताए। उनका अनुसार जनजीवन सामान्य बन्दै गएर नदी वारपार गर्न सहज भएपछि मात्र विद्यालय सञ्चालन गर्ने तयारी गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने पूर्वसूचना भए पनि क्षतिको यति ठूलो प्रभाव पर्ने अनुमान गरिएको थिएन। उनका अनुसार केही विद्यालयले समयमै उच्च सतर्कता अपनाएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएका छन्।

‘अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ। केही समयपछि आवश्यकताअनुसार वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना बनाउनेछौँ,’ सापकोटाले भने।

त्रिशूली बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकामा सञ्चालित ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटको प्रारम्भिक तथ्यांकअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। ती विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने अवस्था रहेको जनाइएको छ।

उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन् भने एउटा ब्लक मात्र बाँकी रहेको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार क्षेत्रमा समेत क्षति पुगेको छ।

बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका दुईवटा बससमेत बगाएको छ।

यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा ठूलो क्षति नभए पनि बाढीबाट विस्थापित नागरिकलाई राख्न दुईवटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी नगरपालिकामा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ।

बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नम्बर ५ को महादेव माध्यमिक विद्यालयसमेत प्रभावित बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय