काठमाडौँ,१७ भदाै । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपद्को समयमा सामाजिक सञ्जालका पोस्ट र आश्वासनभन्दा सरकारको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले विपद्बाट प्रभावित नागरिकले सामाजिक सञ्जालमा गरिने पोस्ट नभई उद्धार, राहत र राज्यको प्रभावकारी उपस्थिति खोजिरहेको बताए।
‘पीडित नागरिकले सोसियल मिडियामा पोस्ट होइन, उद्धार र राहत खोजेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरेर चुनाव त जित्नुभयो, तर यसरी सङ्कट समाधान हुँदैन,’ उनले भने, ‘आज सङ्कट र दुःखमा राज्य देखिनुपर्छ, विपत्तिमा सिङ्गो राष्ट्र एकजुट देखिनुपर्छ।’
प्रचण्डले प्रधानमन्त्रीले संसद्मा रहेका सबै दल तथा आफ्नै सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको आरोप लगाए। प्रधानमन्त्री संसद्मा आएर केही विषयमा ब्रिफिङ गरेर फर्किएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको संसद् उपस्थितिको शैलीप्रति समेत प्रश्न उठाए।
‘प्रधानमन्त्रीजी आउनुभयो, केही ब्रिफिङ सुनाउनुभयो, त्यसका लागि धन्यवाद दिन्छु। तर उहाँ आउनुहुन्छ र कसैको अनुहार पनि नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ उनले प्रश्न गरे।
प्रधानमन्त्री सबैको साझा अभिभावक भएकाले प्रतिपक्ष मात्रै नभई आफ्नै दलका सांसदहरूको समेत विश्वास जित्नुपर्ने प्रचण्डको भनाइ थियो। संकटका बेला सबैका अनुभव र सुझावलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसतर्फ प्रधानमन्त्रीको पर्याप्त ध्यान नपुगेको उनले बताए।
‘हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ। तर उहाँले प्रतिपक्षलाई मात्र होइन, आफ्नै सांसदहरूलाई पनि विश्वासमा लिने मेहनत गर्नुभएको देखिएन,’ प्रचण्डले भने, ‘अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्नेतर्फ उहाँको ध्यान जान सकेको छैन।’
प्रधानमन्त्रीलाई कार्यशैलीमा गम्भीरता देखाउन आग्रह गर्दै प्रचण्डले समयमै सबैको विश्वास जित्न नसके परिस्थितिले कसैलाई नपर्खने चेतावनीसमेत दिए।
‘तपाईंको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नुभएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ, यति ध्यान रहोस्,’ उनले भने।




