काठमाडौँ,१७ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले भोटेकोशी बाढीपहिरोबाट सिर्जित विपद् व्यवस्थापनमा सरकारले स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले विपद्पछि सुरुङमार्गमा फसेका नागरिकको उद्धारमा समेत सरकारले ढिलाइ गरेको दाबी गरे। उनका अनुसार घटनाको ७२ घण्टापछि मात्रै अनुगमन टोली र ९६ घण्टापछि उद्धार टोली पुगेको थियो।
‘७२ घण्टापछि अनुगमनको टिम गयो, ९६ घण्टापछि रेस्क्युको टिम गयो, त्यो पनि सरकारको होइन,’ शाहीले भने, ‘पर्वतारोहीहरू हामीले लगेर पठाएका मान्छे हुन्। सुरुङबाट निस्केका मान्छेहरू आफैँ पीडित हुन्।’
शाहीले आफूहरू सांसदका रूपमा जनताको आवाज उठाइरहेको र विपद्का विषयमा कार्यकारी अधिकार भएका मन्त्रीहरूलाई पटक–पटक जानकारी गराउँदै आएको बताए। तर संसद्मा आएर सरकारले स्थानीय तह परिचालन गरिएको दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको आरोप थियो।
विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई तत्काल परिचालन गर्न सकिएको भए उद्धार तथा राहत कार्य थप प्रभावकारी बन्ने उनको भनाइ थियो।
उनले भौतिक संरचनामा फसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरणसमेत समयमा नपठाइएको दाबी गरे। पाँच घण्टामै पठाउन सकिने स्काभेटर सरकारले १४४ घण्टापछि मात्र पठाएको शाहीको आरोप छ।
‘पाँच घण्टामा स्काभेटर पठाउन सकिने अवस्था थियो, तर सरकारले १४४ घण्टापछि मात्र स्काभेटर पठायो,’ उनले भने।
शाहीले विपद्को समयमा सरकारका सबै संयन्त्रलाई तत्काल परिचालन गरी उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।




