रौतहट,१७ भदाै । रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली आफ्नै घरमा मृत फेला परेका छन्।
राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बिहान करिब ६ बजे साह घरमा मृत फेला परेको सूचना इलाका प्रहरी कार्यालय राजपुरमा पुगेको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको हो।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




