spot_img

विपद्को समयमा सरकारको उपस्थिति निराशाजनक : महामन्त्री पौडेल

spot_img
spot_img

काठमाडौँ,१७ भदाै । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक देखिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले विपद्का बेला सरकारको सक्रियता सामाजिक सञ्जालमा गरिने प्रचार र पोस्टमा सीमित देखिएको आरोप लगाए। प्रभावित क्षेत्रमा भने उद्धार, राहत तथा राज्यको प्रत्यक्ष उपस्थिति कमजोर रहेको उनको टिप्पणी छ।

विशेषगरी सुरुङमार्ग तथा जटिल भौगोलिक क्षेत्रमा फसेका नागरिकको उद्धारमा सरकारले बाह्य विज्ञको सहयोग लिन ढिलाइ गरेको पौडेलले बताएका छन्। ‘एक्लै सबै गर्छु’ भन्ने मानसिकताका कारण उद्धार कार्यमा गम्भीर ढिलाइ भएको उनको आरोप छ।

उनका अनुसार सुरुआतमै विज्ञ तथा प्राविधिक जनशक्तिको सहयोग लिन सरकार तत्पर भएको भए उद्धारमा देखिएको ढिलाइ कम गर्न सकिन्थ्यो। प्रधानमन्त्रीले ढिलै भए पनि उद्धार कार्यमा कमजोरी भएको स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताउनुले सरकार सुरुआती चरणमै चुकेको पुष्टि हुने पौडेलको दाबी छ।

पौडेलले विपद्पछिको व्यवस्थापनमा समेत राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालित हुन नसकेको आरोप लगाए। उपलब्ध सीमित स्रोत–साधनको समेत उचित परिचालन हुन नसकेको भन्दै उनले सुगम क्षेत्रमा मात्रै सरकारी उपस्थिति देखिएको र मुख्य प्रभावित क्षेत्रका नागरिक अझै राहत तथा सहयोगको पर्खाइमा रहेको बताए।

विपद्को समयमा दिनरात खटिने तथा सरकारलाई रचनात्मक सुझाव दिनेहरूमाथि सरकारका मन्त्री र सत्तापक्षका सांसदबाटै हप्कीदप्की तथा संवेदनहीन टिप्पणी हुनु आपत्तिजनक भएको पौडेलले बताए।

उनले सरकारलाई अहम् र प्रचारबाजीभन्दा माथि उठेर विपद्को अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्। तत्काल प्रभावकारी उद्धार, राहत वितरण, घाइतेको उपचार तथा विस्थापितको उचित व्यवस्थापनलाई प्राथमिकतामा राख्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय