वीरगन्ज,१७ भदौ । वीरगन्जको एक घरमा रहेको कोठाबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा बाराका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका २० वर्षीय अर्जुन यादव र उनका साथी २० वर्षीय ओमप्रकाश यादव रहेका छन्।
प्रहरीका अनुसार बाराको कोल्हबी नगरपालिका–१० घर भई हाल वीरगन्ज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएकी आरतीकुमारी चौधरीको कोठाबाट भदौ १४ गते चोरी भएको थियो। घरमा कोही नभएको समयमा कोठाको ढोकाको ताला फोडेर सुनचाँदीका गरगहना चोरी गरिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा यादवद्वयलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना पनि चौधरी बस्दै आएको घर नजिकै डेरा लिएर बस्दै आएका थिए।
पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




