नेपालगञ्ज । भेरी अस्पताल परिसरमा सञ्चालन हुँदै आएको साझा स्वास्थ्य सेवाको फार्मेसीको कानुनी आधारमाथि उठेको प्रश्न अब अस्पताल प्रशासनको अनुसन्धानको दायरामा पुगेको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले साझा फार्मेसी अस्पताल परिसरमा सञ्चालन गर्न मिल्ने वा नमिल्ने विषयमा आफूहरू अनुसन्धान गरिरहेको बताएका छन्। सर्वोच्च अदालतको आदेशका कारण साझा फार्मेसी रोकिएको विषयमा आफूलाई जानकारी नभएको उल्लेख गर्दै दर्नालले यदि अस्पताल परिसरभित्र उक्त फार्मेसीको सञ्चालन कानूनविपरीत रहेको पुष्टि भए तत्काल पत्र काटेर कारबाही गर्दै अस्पताल परिसरबाट हटाइने बताएका छन्।
दर्नालको यो भनाइसँगै लामो समयदेखि उठ्दै आएको साझा फार्मेसीसम्बन्धी कानुनी प्रश्न फेरि गम्भीर बनेको छ।
सर्वोच्च अदालतको रिट नं. ०७१–WO–०९६१ बाट प्रतिपादित आदेश तथा अस्पताल फार्मेसीसम्बन्धी सरकारी व्यवस्थाको मर्मअनुसार अस्पतालभित्र आफ्नै फार्मेसी सञ्चालनलाई प्राथमिकता दिइएको अवस्थामा भेरी अस्पताल परिसरमा बाह्य पक्षको फार्मेसीलाई सञ्चालन गर्न दिने कानुनी आधार के हो? भन्ने प्रश्न उठेको हो।
साझा स्वास्थ्य सेवातर्फबाट अस्पताल परिसरमा फार्मेसी सञ्चालनमा रहेको अवस्थामा त्यसका जिम्मेवार पक्ष बेलबहादुर लगायत सम्बन्धित व्यक्तिसँग भएको सम्झौताको अवस्था पनि सार्वजनिक हुनुपर्ने देखिन्छ।
सम्झौता सकिएको हो भने कसको निर्णयमा सञ्चालन?
साझा फार्मेसीसँग गरिएको सम्झौताको अवधि सकिएको हो भने त्यसपछि पनि फार्मेसी सञ्चालनको अनुमति कसले दियो भन्ने प्रश्न उठेको छ। सम्झौता नवीकरण भएको हो भने नवीकरणको निर्णय, मिति, अवधि र कानुनी आधार के हो भन्ने स्पष्ट हुन आवश्यक छ।
अस्पताल प्रशासनले यस विषयमा सम्झौताको मूल प्रति, नवीकरणसम्बन्धी निर्णय तथा फार्मेसी सञ्चालनको स्वीकृति/अनुमतिसम्बन्धी कागजात सार्वजनिक गरेमा वास्तविकता आफैं स्पष्ट हुने देखिन्छ।
न्यूट्रास्युटिकल बिक्रीको पर्चाले थप्यो अर्को प्रश्न
साझा फार्मेसीको सञ्चालनसम्बन्धी प्रश्नसँगै त्यहाँबाट बिक्री भइरहेको औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीको विषयमा समेत प्रश्न उठेको छ।
१४ अगस्ट २०२६ मा साझा स्वास्थ्य सेवा, नेपालगञ्जबाट जारी बिल नं. SNDPNC-011990 मा ‘Billed By: Pavitra’ उल्लेख रहेको र उक्त बिलमा New Bonestat Frac लगायतका सामग्री बिक्री भएको देखिएको दाबी गरिएको छ।
उक्त बिल/पर्चालाई आधार मान्दा न्यूट्रास्युटिकल प्रकृतिका सामग्रीको बिक्री कानुनी रूपमा कसरी भइरहेको छ, त्यसको वर्गीकरण के हो र बिक्री गर्ने कर्मचारीको आवश्यक योग्यता तथा अधिकार के हो? भन्ने प्रश्न उठेको छ।
अझ गम्भीर विषय, प्राप्त पर्चामा उल्लेख भएको बिक्रीकर्ताको योग्यता र जिम्मेवारीलाई लिएर पनि प्रश्न उठेको छ। फार्मेसीसम्बन्धी योग्यता नभएका कर्मचारीबाट औषधि बिक्री भइरहेको हो भने त्यसको जिम्मेवार को हो?
अस्पताल परिसरमा औषधि बिक्री हुने स्थानमा कर्मचारीको योग्यता र व्यावसायिक दर्ताको अनुगमन कसले गरिरहेको छ?
यस विषयमा सम्बन्धित कर्मचारीको शैक्षिक योग्यता, फार्मेसी दर्ता, बिक्री अभिलेख र जिम्मेवारीसम्बन्धी कागजात जाँच गर्नुपर्ने देखिन्छ।
पूर्व मेसु निराजन सुवेदीको कार्यकालमाथि पनि प्रश्न
साझा फार्मेसीको सञ्चालनसम्बन्धी प्रश्न अहिले मात्र उठेको होइन। विगतदेखि नै अस्पताल परिसरमा बाह्य फार्मेसी सञ्चालनको विषयमा प्रश्न उठ्दै आएको अवस्थामा पूर्व मेसु डा. निराजन सुवेदीको कार्यकालमा यस विषयमा आवश्यक छानबिन वा कारबाही किन अघि बढेन? भन्ने प्रश्न पनि उठेको छ।
यदि साझा फार्मेसीको सञ्चालन कानुनी प्रक्रियाअनुसार थियो भने त्यसको सम्झौता र नवीकरणसम्बन्धी कागजात के थिए? यदि कानुनी प्रश्न उठ्ने अवस्था थियो भने तत्कालीन अस्पताल प्रशासनले त्यसबेला के कदम चाल्यो? भन्ने विषय पनि अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।
त्यसअघि अस्पतालको नेतृत्व गरेका अन्य मेसुहरूको कार्यकालमा पनि साझा फार्मेसी सञ्चालनसम्बन्धी सम्झौता, नवीकरण र अनुगमन कसरी भयो भन्ने अभिलेख हेर्नुपर्ने आवश्यकता देखिएको छ।
दैनिक कारोबारमा पनि ठूलो अन्तरको दाबी
भेरी अस्पतालको आफ्नै फार्मेसीबाट दैनिक करिब दुई लाख रुपैयाँ बराबरको औषधि बिक्री हुने गरेको दाबी भइरहँदा साझा फार्मेसीको दैनिक कारोबार करिब चार लाख रुपैयाँसम्म पुग्ने गरेको बताइएको छ।
यद्यपि यी कारोबारका तथ्यांकको आधिकारिक पुष्टि भइसकेको छैन। त्यसैले वास्तविकता पत्ता लगाउन साझा फार्मेसी र अस्पतालको आफ्नै फार्मेसीको दुई वर्षको बिक्री विवरण, बिल, राजस्व अभिलेख तथा कारोबारसम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
अब दर्नालको अनुसन्धानमा नजर
वर्तमान मेसु डा. नवीन दर्नालले कानूनविपरीत देखिए तत्काल कारबाही गरी साझा फार्मेसीलाई अस्पताल परिसरबाट हटाउने बताएका छन्।
त्यसैले अब मुख्य प्रश्न दर्नालको नेतृत्वमा हुने अनुसन्धानले के निष्कर्ष निकाल्छ भन्ने हो।
साझा फार्मेसी कानुनी प्रक्रियाअनुसार सञ्चालन भएको हो भने त्यसको आधार र सम्झौता सार्वजनिक हुनुपर्छ। यदि अदालतको आदेश वा प्रचलित कानूनविपरीत सञ्चालन भएको पुष्टि हुन्छ भने कसको निर्णयमा त्यसलाई निरन्तरता दिइयो र विगतमा जिम्मेवार पदाधिकारीले किन कारबाही गरेनन्? भन्ने प्रश्नको जवाफसमेत खोजिनुपर्ने देखिन्छ।
भेरी अस्पताल सार्वजनिक संस्था भएकाले अस्पताल परिसरमा सञ्चालन हुने फार्मेसीको सम्झौता, नवीकरण, सञ्चालन अनुमति, कर्मचारीको योग्यता, बिक्री विवरण, राजस्व अभिलेख र नियमन प्रक्रिया पारदर्शी हुन आवश्यक छ।





