बीरगन्ज,१८ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका मधेस प्रदेशका ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। अझै १६२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ३० जना टेलिफोनमार्फत परिवार तथा आफन्तको सम्पर्कमा आएका हुन्।
सम्पर्कमा आउनेमा पर्साको वीरगन्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराका सत्यम राम र रुपेश गुप्तालगायत रहेका छन्।
त्यस्तै रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएका छन्। सर्लाही, महोत्तरी, धनुषा, सिराहा तथा सप्तरीका केही व्यक्तिसमेत परिवारसँग सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाल सप्तरीका ४८, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिराहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना अझै सम्पर्कविहीन छन्।
भोटेकोशी बाढी र त्यसपछि आएको पहिरोका कारण परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेका नागरिकको संख्या बढ्न थालेपछि मधेस प्रदेश प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरिरहेको छ।
प्रवक्ता ढकालका अनुसार परिवार वा आफन्तको सम्पर्कमा नरहेको जानकारी आएपछि खोजी तथा उद्धारका लागि सम्बन्धित व्यक्तिको विवरण संकलन गर्ने काम भइरहेको छ।





