spot_img

मन्त्रिपरिषद्का ७ निर्णय : बाढीपीडितलाई राहतदेखि भदौ २३ गते सार्वजनिक बिदासम्म

spot_img
spot_img

काठमाडौं,१७ भदौ । सरकारले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनादेखि भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने लगायतका सात वटा निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।

सरकारले गरेका निर्णयमा एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियत र अन्य सुविधा उपलब्ध गराउने निर्णय भएको छ।

बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। उद्धारका क्रममा घाइते भए निःशुल्क औषधि उपचार तथा मृत्यु भए परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले २०८३ साल भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

त्यसैगरी, भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा रहेको रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको छ। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय