spot_img

भोटेकोशी बाढीमा १ हजार ३४१ शव फेला, ४ हजारभन्दा बढी अझै बेपत्ता

spot_img
spot_img

काठमाडौं,२१ भदाै ।  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ जना महिला र ५२३ जना पुरुष छन्। थप ४९३ शव भने पहिचान हुन नसकेको अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ८६३ जना नेपाली पुरुष, ५७५ महिला छन्। त्यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३३२ महिला तथा अन्य पाँच जना सम्पर्कविहीन रहेको विवरण छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय निरन्तर परिचालित रहेको प्रहरीले जनाएको छ।फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा व्यवस्थापन गरिसकिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी रहेको छ।

बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए नमुना संकलनलाई प्राथमिकतामा राखिएको छ।प्रहरीका अनुसार हालसम्म मृतक १ हजार २८६ जना तथा मृतकका आफन्त १ हजार १८६ जना गरी कुल २ हजार ४७२ जनाको डीएनए नमुना संकलन गरिएको छ।

प्रवक्ता काफ्लेले बेपत्ता व्यक्तिको पहिचान तथा शवको सनाखत प्रक्रिया छिटो टुंग्याउन डीएनए नमुना संकलनलाई थप प्रभावकारी बनाइएको बताए।

भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बेपत्ताको खोजी, घाइतेको उद्धार तथा शव व्यवस्थापनका लागि सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायहरू प्रभावित क्षेत्रमा निरन्तर परिचालित भइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय