spot_img

राष्ट्रसंघमा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्, सचिवालयको मात्र भर नपर्नुस् : गगन थापा

spot_img
spot_img

काठमाडौं,२१ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्।

आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता वा ‘ग्रान्ड शो’मा सीमित नगर्न आग्रह गरेका हुन्।

विदेश भ्रमणको तयारी गर्दा प्रधानमन्त्रीले आफ्नै सचिवालयमा मात्र निर्भर नभई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग व्यापक परामर्श गर्नुपर्ने थापाको भनाइ थियो।

उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनबाट ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नुपर्ने उनले बताए।

थापाले नेपालले ‘हानि र नोक्सानी’को मुद्दासँगै अनुदानमा आधारित जलवायु वित्तका लागि पनि अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी पहल गर्नुपर्ने धारणा राखे।

यसअघि विभिन्न सरकार तथा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र एजेण्डाको अध्ययन गरेर वर्तमान भ्रमणको तयारी गर्न पनि उनले सुझाव दिए। विगतमा उठाइएको ‘हिमालदेखि महासागरसम्म’को अवधारणा तथा कोप–२८ मा अघि सारिएका जलवायु न्यायसम्बन्धी पहललाई निरन्तरता दिँदै नेपालको प्रस्तुति थप मजबुत बनाउनुपर्ने थापाको भनाइ थियो।

देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको सुझावका आधारमा तयारी गरेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन सके नेपालका मुद्दालाई स्थापित गर्न र ठोस उपलब्धि हासिल गर्न सहज हुने उनले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय