कञ्चनपुर,२१ भदौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्। महाधिवेशनको प्रक्रिया नरोकिए कांग्रेस विभाजन हुन सक्ने चेतावनी उनले दिएका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै अधिकतम लचकताका साथ अघि बढिरहेको बताए।
विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई हटाइएकै कारण अहिलेको विवाद उत्पन्न भएको उनको दाबी थियो। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै कार्यसमितिलाई समेटेर विवाद समाधानको बाटो खोज्नुपर्ने उनले बताए।
सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै लेखकले १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए।
नयाँ सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको उनको भनाइ थियो।
त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले आफूअनुकूल संयोजक चयन तथा बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट समेत एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको उनले बताए।
‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। यद्यपि पार्टी एकताको सम्भावना अझै कायम रहेको उनको भनाइ थियो।
लेखकले दुवै पक्षले आ–आफ्नो ठाउँबाट महाधिवेशन रोक्नुपर्नेमा जोड दिँदै महाधिवेशन नरोकिए पार्टी विभाजन हुन सक्ने चेतावनी दिए।
पार्टीको आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला पर्खेर अघि बढ्नुपर्ने उनले बताए। कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा सम्पूर्ण विवाद समाधान भएको निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो।
पार्टी विभाजनको अवस्था आए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिए।
सभापति गगन थापा नेतृत्वको कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। तर संस्थापन इतर समूहले उक्त मिति स्वीकार गर्न नसकिने भन्दै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।





