लेखक: मुनीलाल बैठा ।
२०८३ भदौ १० गतेको त्यो बिहानी रसुवाका लागि कहिल्यै नबिर्सिने बन्यो। भोटेकोशी नदी, जुन दिन भरि शान्त बग्थ्यो, त्यो बिहान अचानक क्रुद्ध बनेर फैलियो। केही घण्टा भित्रै नदी किनारका बस्ती, घर, गोरेटो, पुल, मोबाइलका टावरहरू सबै बगाउँदै लग्यो। तर, यी भौतिक संरचना सँगै मानिसका सपना, उनीहरूका छोराछोरीको भविष्य पनि त्यसै खैरो भेलमा बेपत्ता भयो।
गृह मन्त्रालयको प्रारम्भिक विवरणले बिहान करिब ८ः४० बजेको त्यो आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका किनारका क्षेत्रमा ठूलो तबाही मच्चाएको बताउँछ। उद्धार र राहतका लागि मानिसहरू दौडिरहेका छन्, तर त्यो भन्दा पनि गहिरो चोट लागेको छ हाम्रा बालबालिकाको निर्मल मुस्कान र उनीहरूको पढाइमा।
प्रारम्भिक तथ्याङ्कले त झन् मन थर्थर्याउँछ। रसुवा, नुवाकोट र धादिङका कम्तीमा १७ हजार बालबालिका यो विपद्बाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रारम्भिक गणनामा १ हजार ५० भन्दा बढीको मृत्यु भएको अनुमान छ, जसमा धेरै निर्दोष बालबालिका पनि छन्। अझै सयौँ बेपत्ता छन्, जसको खोजीमा उद्धारकर्मीहरू खटिरहेका छन्।
तर, शिक्षाको क्षेत्रमा पुगेको क्षति हेर्दा त झन् चिन्ता बढ्छ। १८ वटा विद्यालयका भवनहरू भत्किएर चकनाचूर भइसकेका छन् भने थप २० वटा विद्यालयहरू ठूलो जोखिममा छन्। करिब १० हजार बालबालिकाले आफ्नो पढाइ निरन्तर राख्न तत्काल सहारा र स्रोतहरूको खाँचो महसुस गरिरहेका छन्। यी संख्याहरू पढेर हामी सबैको मन दुख्छ, तर के हामीले साँच्चै गहिरो प्रश्न सोधेका छौं? बाढीको पानी घटेपछि ती बालबालिकाको शिक्षा कसरी फर्किन्छ? के विद्यालयको ढोका खोलिदिए मात्र पुग्छ?
बाढी सुक्छ, तर पीडा र अन्योल सुक्दैन
विपद् आएपछि हामी सबैको ध्यान उद्धार, राहत, दालचामल, पाल र अस्पतालतिर जान्छ। ज्यान जोगाउनु नै पहिलो कर्तव्य हो । तर, बालबालिकाका लागि संकट त्यतिमै सकिँदैन। उसको घर बग्यो, अब उसले विद्यालय कसरी जाने? उसको किताब, कापी र पोसाक पनि त बगि सक्यो। आमाबाबु नै गुमाएको सानो नानीलाई अब कसले साथ दिने? रातभर पानी र पहिरोको त्रासमा बिताएको बालबालिका भोलिपल्ट कसरी कक्षाकोठामा शान्त भएर बस्न सक्छ?
यसैकारण, विपद्लाई हामीले जतिसुकै भौतिक रूपमा नाप्न खोजे पनि यसको सबैभन्दा लामो तथा साँघुरो आघात भनेको शिक्षा र सिकाइमा पर्ने अवरोध हो। विद्यालयको भवन भत्कियो भने पुनर्निर्माण गर्न सकिन्छ, फर्निचर किन्न सकिन्छ, पुस्तकालय भर्न सकिन्छ, तर एक वर्षको पढाइ खेर गयो भने त्यो सुनको उमेर कसरी फर्काउने?
पर्खाल भन्दा मूल्यवान् ती बालबालिकाको भविष्य हो
जब बाढीले एउटा विद्यालय भवन बगाउँछ, हामी सबैले पुनर्निर्माणको योजना बनाउँछौँ। तर जब त्यो बाढीले एउटा बालबालिकाको पढाइको मौसम बगाउँछ, त्यसको क्षतिलाई कसरी नाप्ने? विशेषगरी गरिब, दलित, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका बालबालिकाका लागि त विपद् विद्यालय छोड्ने एउटा बहाना बन्न पुग्छ। त्यसैले, अब हामीले विद्यालयको क्षति नाप्दा ‘कतिओटा भवन भत्किए?’ भनेर मात्र सोध्नु हुँदैन। हामीले सोध्नुपर्छ
– कति बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भए?
– उनीहरूका कति दिनको पढाइ खेर गयो?
– विपद् सकिएपछि कति जना फेरि विद्यालय फर्किएनन्?
– कति जनाको पठनपाठनको स्तर खस्कियो?
– कति बालबालिकालाई अहिले मानसिक सहारा र काउन्सिलिङको जरुरत छ?
यी प्रश्नहरूलाई हामीले विपद् व्यवस्थापन र शिक्षा योजनाको अभिन्न अंग नबनाउँदासम्म हाम्रो मूल्याङ्कन अधुरो रहन्छ।
रसुवाको घटना हाम्रा लागि ठूलो चेतावनी हो
रसुवाको यो पीडालाई हामीले एउटा जिल्लाको घटनाका रूपमा मात्र हेर्यौँ भने हामी ठूलो भुल गर्छौं। नेपालका पहाडी गाउँ, तराईका डुबान क्षेत्र र नदी किनारका हरेक विद्यालयका लागि यो एउटा स्पष्ट खतराको चेतावनी हो। जलवायु परिवर्तनले पानीको ढाँचा नै बदलिरहेको छ। जति बढी तापक्रम, उति बढी अनिश्चित वर्षा। अब पुरानो अनुभवका आधारमा मात्रै विद्यालय डिजाइन गर्नु खतरनाक हुन सक्छ।
अब हाम्रो विद्यालय प्रणालीले बदलिँदो जलवायु र बढ्दो विपद्को चुनौतीलाई आफ्नो दैनिक काम, बजेट र भौतिक योजनामा अनिवार्य रूपमा समावेश गर्नैपर्छ।
के हाम्रो विद्यालय विपद्को मुकाबिला गर्न तयार छ?
यो प्रश्न आज हरेक प्रधानाध्यापक, हरेक शिक्षक, हरेक स्थानीय सरकारका जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिले आफैंलाई सोध्नैपर्छ।
यदि आज बिहानै ठूलो बाढी आयो भने हाम्रा विद्यार्थी कता जानेछन्? विद्यालयबाट सुरक्षित बाहिरिने बाटो कुन हो? नजिकको सुरक्षित खुला क्षेत्र कहाँ छ? अपाङ्गता भएका साथीहरूलाई कसरी बाहिर निकाल्ने? अभिभावकलाई तुरुन्त जानकारी कसरी दिने? आपत्कालमा शिक्षकहरू बीचको जिम्मेवारी कसले लिने? प्राथमिक उपचारको व्यवस्था कसरी मिलाउने?
यदि यी प्रश्नको जवाफ विद्यालयसँग प्रस्ट छैन भने, विद्यालयको पर्खाल जति मजबुत भए पनि त्यो ‘सुरक्षित विद्यालय’ होइन। सुरक्षित विद्यालय भनेको मजबुत छानो मात्र होइन; यो सुरक्षित स्थान, सुरक्षित व्यवहार, दक्ष शिक्षक र विपद्को बेलामा पनि सिकाइ निरन्तर राख्ने सक्षमताको सम्मिश्रण हो।
Mock Drill लाई औपचारिकता मान्ने बानी त्यागौं
हामी धेरै जसो विद्यालयमा योजना त बनाउँछौं, तर व्यवहारमा त्यसको अभ्यास गर्दैनौं। कागजमा ‘बाढी आए यता जाऔं’ भनेर लेखिदिए मात्र विद्यार्थी सुरक्षित हुँदैनन्। यसको नियमित अभ्यास मात्रले मुक्ति दिन्छ। विद्यालयमा बाढी, भूकम्प, आगलागी जस्ता सम्भावित जोखिमका आधारमा महिनौंमा एक पटक भए पनि Mock Drill अनिवार्य रूपमा गरिनुपर्छ।
विद्यार्थीले सुरक्षित ठाउँ पहिल्याउन सिक्नुपर्छ, शिक्षकले विपद्को बेलामा नेतृत्व गर्न सिक्नुपर्छ, प्राथमिक उपचार दिने समूह तयारी अवस्थामा रहनुपर्छ। यो अभ्यास कुनै औपचारिकता होइन यो त जीवन जोगाउने कला हो।
बालबालिकालाई हामीले पीडितको रूपमा मात्र नहेरौं
विपद्को समयमा बालबालिका निश्चय नै संरक्षणका पात्र हुन्, तर उनीहरूलाई केवल कमजोर प्राणीको रूपमा हेर्दा मात्र पुग्दैन। विद्यालयका बाल क्लब, इको क्लब र विद्यार्थी सङ्घहरूलाई जोखिम पहिचान, सुरक्षित स्थानको नक्साङ्कन, वातावरण संरक्षण र विपद् सचेतनाको काममा सक्रिय बनाउन सकिन्छ। यसले उनीहरूलाई एउटा शक्तिशाली सन्देश दिन्छ ‘हाम्रो सुरक्षा सरकारले मात्र होइन, हामी आफैंले पनि सुरु गर्नुपर्छ।’
विपद् सकिएपछि विद्यालय खोल्नु मात्रै अन्तिम उपाय होइन
रसुवाका प्रभावित बालबालिकाका लागि विद्यालय सञ्चालन गर्नु आवश्यक छ, तर त्यसको अर्थ केवल ‘ढोका खोल्नु’ मात्र होइन। शिक्षा पुनःस्थापना भनेको किताब-कापी, सुरक्षित पानी, शौचालय, मनोसामाजिक सहायता र बाल संरक्षणको सम्पूर्ण व्यवस्था हो। जसले आफ्ना परिवार गुमाएका छन्, उनीहरूका लागि शिक्षक केवल पाठ्यपुस्तकको एक अध्याय मात्र होइनन् उनीहरू ती बालबालिकाका सहारा, आशाको किरण र मनोसामाजिक सहाराको पहिलो पाइला हुन्।
अब स्थानीय सरकारले जिम्मेवारी देखाउनैपर्छ
विद्यालय सुरक्षा र जलवायु अनुकूलनका लागि स्थानीय सरकारको शिक्षा बजेटमा अनिवार्य रूपमा व्यवस्था गर्नुपर्छ। हरेक विद्यालयको जोखिम नक्साङ्कन हुनुपर्छ, शिक्षक-विद्यार्थीलाई तालिम दिनुपर्छ, र नियमित Mock Drill सञ्चालन गर्नुपर्छ। राहत वितरणको लागि मात्र होइन, विपद् रोकथाम र पूर्वतयारीका लागि पनि बजेट छुट्याउनुपर्छ। किनभने एक दिनको पूर्वतयारीले भोलिको ध्वस्त भवन र रोएका बालबालिकाको ठूलो घाउ कम गर्न सक्छ।
अब प्रश्न ‘बाढी कहिले आउँछ?’ होइन, ‘हामी कति तयार छौं?’ हो,
रसुवाको भोटेकोशीले हामीलाई कठोर पाठ सिकायो विपद् कसैको इन्तजारी गर्दैन, न त हाम्रो योजना हेरेर आउँछ। त्यसैले अब हामीले पुनः सोध्नु पर्ने प्रश्न हो, ‘के हाम्रा विद्यालयहरू विपद्को सामना गर्न सक्षम छन्?’ यदि आजको हाम्रो जवाफ कमजोर छ भने, यसको ठूलो मूल्य भोलिका पुस्ताका बालबालिकाले चुकाउनु पर्नेछ। बाढीले घर, सडक, पुल सबै बगाउन सक्छ, तर हाम्रो सोच र तयारी बलियो भयो भने बालबालिकाको भविष्य भने बग्नबाट जोगाउन सकिन्छ।
रसुवाको यो विपद्ले हामीलाई शोक मात्र होइन, एउटा गम्भीर कर्तव्य पनि थमाएको छ। अब हरेक विद्यालय सुरक्षित बन्नै पर्छ। हरेक विद्यार्थी विपद्–सचेत हुनै पर्छ। हरेक शिक्षक आपत्कालको परिस्थितिका लागि तयार हुनै पर्छ। कुनै पनि बाढी, पहिरो वा विपद्ले कुनै पनि नेपाली बालबालिकाको शिक्षा रोकिनु हुँदैन।
किनभने विद्यालय बचाउनु भनेको केवल कंक्रिटका भित्ता बचाउनु होइन, यो त भोलिको नेपालका चम्किला सपना बचाउनु हो।
अब समय आएको छ—विपद् आएपछि प्रतिक्रिया दिने मानसिकतालाई परिवर्तन गरी विपद् आउनुअघि नै विद्यालय र बालबालिकालाई सबल बनाउने।






सब भन्दा पहिला त विधालयमा हुन सक्ने यस्ता यस्ता सम्भावित जोखिमहरूको निराकरण तथा उपाय अबिलम्ब अपनाई सुरक्षित हुन अति जरुरी छ ।