काठमाडौँ,२२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी मृत्यु भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ शव पहिचान हुन नसकेको अवस्थामा छन्। प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये स्वदेशीतर्फ २ हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिएका छन्। फेला परेका शवमध्ये १ हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।
बाढीपछि हालसम्म ९ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरी केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म १ हजार १८१ मृतक र १ हजार १९५ जना मृतकका आफन्त गरी २ हजार ३७६ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धार, शव पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलसहित सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।





