spot_img

आगामी तीन दिन नदीमा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

spot_img
spot_img

काठमाडौँ,२२ भदौ । आगामी तीन दिन देशभरका प्रमुख तथा साना नदीमा जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना देखिएपछि बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा मनसुनी वर्षाका कारण देशका अधिकांश नदी प्रणालीमा बहाव बढ्ने प्रक्षेपण गरिएको हो।

सोमबार बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्तीलगायत प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर, आगामी दिनमा यी नदीमा जलसतह क्रमशः बढ्दै जाने महाशाखाको अनुमान छ।

कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी तथा नारायणी जलाधारका देवघाट, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा आगामी तीन दिन बहाव उल्लेख्य बढ्ने जनाइएको छ।

त्यस्तै, कर्णाली जलाधारका चिसापानी, असाराघाट, भेरी र पश्चिम सेती तथा महाकाली र कन्काई नदीमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने बहाव सामान्य रूपमा बढ्ने बताइएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, काठमाडौँ उपत्यकाका तीनै जिल्ला, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, सुर्खेत, कालिकोट, बझाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित ४० भन्दा बढी जिल्लाबाट बहने साना नदी तथा खोलामा सोमबार बहाव उल्लेख्य बढ्न सक्नेछ।

भोलि र पर्सि पनि सातै प्रदेशका केही साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र, खोलानाला आसपास र कमजोर ढल निकास भएका होचा भूभागमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय