चितवन,२२ भदौ । पृथ्वी राजमार्गको कृष्णभिरलगायतका क्षेत्रमा सडक भासिएर यातायात प्रभावित भएपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ। यात्रुको बढ्दो मागलाई सम्बोधन गर्न बुद्ध एयरले भरतपुरबाट काठमाडौं हुने उडानको संख्या दोब्बरभन्दा बढी बढाएको छ।
बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौं दैनिक पाँचवटा उडान हुँदै आएकोमा अहिले यात्रुको चापअनुसार दैनिक ९ देखि ११ वटासम्म उडान सञ्चालन भइरहेको छ।
भरतपुर–काठमाडौं रुटमा एटिआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। उक्त जहाजले काठमाडौंबाट भरतपुर आउँदा करिब ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौं जाँदा करिब ५० जना यात्रु बोक्ने गरेको छ। ७२ जनाको क्षमता भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने बस्नेतले बताए।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि वर्षायाममा सडक यात्रा जोखिमपूर्ण र असहज हुने भएकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका छन्।
भरतपुर विमानस्थलमा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायत जिल्लाबाट समेत काठमाडौं जाने यात्रु आउने गरेका छन्।
यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै उडान संख्या थप गरी सहज यातायातको व्यवस्था मिलाइएको बुद्ध एयरले जनाएको छ।





