spot_img

कटहरियामा १५ करोड ७५ लाखमा ३.१ किलोमिटर सडक कालोपत्रे हुँदै

spot_img
spot_img

रौतहट,२२ भदौ । रौतहटको कटहरिया नगरपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत १५ करोड ७५ लाख रुपैयाँको लागतमा सडक निर्माण तथा स्तरोन्नतिको काम सुरु भएको छ।

मधेस प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सडकमा कालोपत्रेसँगै पुल, कलभर्ट र नाला निर्माणको कामसमेत भइरहेको छ। निर्माण कम्पनीका अनुसार पुल तथा कलभर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने सडक कालोपत्रेको पहिलो चरणको कामसमेत सुरु भइसकेको छ।

ठेक्का प्रक्रियामार्फत मुन्ना कन्स्ट्रक्सनले भ्याटसहित १५ करोड ७५ लाख रुपैयाँमा सडक निर्माणको जिम्मा पाएको हो। कम्पनीका अध्यक्ष प्रमोदकुमार यादवका अनुसार कटहरिया बजारस्थित विवाह भवनदेखि उत्तरतर्फ वडा नम्बर ३ को बडका बडेरवासम्म करिब ३.१ किलोमिटर सडक कालोपत्रे गरिनेछ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा ढलान तथा कालोपत्रे, दुईवटा कलभर्ट, तीनवटा ह्युमपाइप कलभर्ट र करिब १ हजार ६ सय मिटर नाला निर्माण गरिने सम्झौता भएको छ।

गत असारदेखि निर्माण सुरु भएको सडक आगामी २०८४ साल असारसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको अध्यक्ष यादवले बताए।

कटहरिया क्षेत्रमा करिब एक दशकअघि निर्माण गरिएको कटहरिया–जंगलसहिया सडक जीर्ण भएपछि नयाँ सडक स्तरोन्नतिको योजना अघि बढाइएको हो।

स्थानीयका अनुसार रौतहट क्षेत्र नम्बर ३ बाट पहिलोपटक निर्वाचित तत्कालीन सभासद तथा हालका प्रदेश सांसद सुनिलकुमार यादवको सक्रियतामा निर्माण भएको उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा छ।

सडकमा ठाउँ–ठाउँमा ठूला खाल्डाखुल्डी परेपछि साइकल, मोटरसाइकलदेखि चारपांग्रे सवारीसाधन सञ्चालनमा समेत समस्या हुँदै आएको थियो। सडकको दुरवस्थाका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।

हाल बडका बडेरवा गाउँको उत्तरी सिमानासम्म निर्माण भइरहेको कालोपत्रे सडकले स्थानीयको आवतजावतमा सहजता ल्याउने कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए।

उनले दोस्रो चरणमा बडेरवादेखि पोखरभिन्डासम्मको सडकसमेत कालोपत्रे गर्न मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री युवराज भट्टराई तथा पूर्वअर्थमन्त्री सुनिलकुमार यादव ‘जितेन्द्र’को ध्यानाकर्षण गराएका छन्।

बडेरवादेखि पोखरभिन्डासम्मको सडक पनि निर्माण हुन सके कटहरिया नगरपालिकाका विभिन्न बस्ती मुख्य सडक सञ्जालसँग थप सहज रूपमा जोडिने स्थानीयको अपेक्षा छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय