काठमाडौं,२२ भदाै । बाढी पूर्वानुमान महाशाखाले सोमबार देशका ४० जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साना नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्ने सम्भावना छ।
जोखिममा रहेका जिल्लामा ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ र कास्की छन्।
त्यस्तै सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा पनि साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको अनुमान छ।
छोटो समयमा ठूलो वर्षा भए साना खोला, खहरे तथा नदीमा पानीको सतह एक्कासि बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले सम्भावित बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।





