काठमाडौं,२२ भदाै । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट थप ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। यसअघि विभिन्न मौद्रिक उपकरणमार्फत बैंकिङ प्रणालीबाट खिचिएको रकमसहित राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र र स्थायी निक्षेप सुविधालगायत उपकरण प्रयोग गर्दै आएको छ। वित्तीय प्रणालीमा तरलताको अवस्था तथा अल्पकालीन ब्याजदरमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न राष्ट्र बैंकले आवश्यकताअनुसार बजारमा पैसा पठाउने वा खिच्ने गर्छ।
प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले सोमबार ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो। बैंकिङ प्रणालीमा तरलता बढ्नुमा रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर सुधारसँगै अर्थतन्त्रमा कर्जाको माग अपेक्षाकृत कमजोर रहनु पनि प्रमुख कारण रहेको बताइएको छ।
राष्ट्र बैंकका अनुसार गत बुधबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ अधिक तरलता रहेको थियो। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र यसअघि जारी गरिएको निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा राखेको रकमको अवधि सकिएपछि पुनः तरलता खिच्न नयाँ निक्षेप संकलन उपकरण जारी गरिएको हो।
निक्षेप संकलन उपकरणको ब्याजदरका लागि बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्छन्। कम ब्याजदरमा रकम राख्न प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा उपकरण बाँडफाँड गरिन्छ।
राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई लक्षित सीमाभित्र राख्न निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट तरलता खिच्ने गर्छ। यसको विपरीत वित्तीय प्रणालीमा तरलता अभाव हुँदा स्थायी तरलता सुविधा र रिपोमार्फत बजारमा पैसा पठाउने गर्छ।
हाल राष्ट्र बैंकले तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमा अर्थात् बैंक दरअनुसार ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा अर्थात् स्थायी निक्षेप सुविधा दरअनुसार ब्याज प्रदान गर्छ।
हाल बैंक दर ५.७५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।





