spot_img

हङकङसँग १५ रनले हार्दै नेपालले व्यहोर्‍यो प्रतियोगिताको पहिलो पराजय

spot_img
spot_img

काठमाडौं,२३ भदाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले हङकङसँग १५ रनको हार बेहोरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको रोमाञ्चक खेलमा हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो।

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको महत्वपूर्ण पारी खेले पनि उनको प्रयास जितका लागि पर्याप्त भएन। आशिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुलशन झाले २० रन जोडे। तर, अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन नसक्दा नेपाल लक्ष्यभन्दा १५ रन टाढा रोकियो।

हङकङका अइजज खानले उत्कृष्ट बलिङ गर्दै नेपालका चार विकेट लिए। यासिम मुर्ताजाले दुई तथा किन्चित देवाङ सिंह, नुसरुल्ला राना र अतिकुल इकबालले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो।हङकङका बाबर हयातले अविजित रहँदै ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ तथा एहसान खानले नटआउट ३५ रन बनाए।

नेपालका सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए पनि हङकङलाई २६१ रनमा रोक्न सकेनन्।नेपाल समूह विजेता हङकङसँगको हारसँगै नेपालले प्रतियोगितामा पहिलो पराजय बेहोरेको हो। यद्यपि, यसअघि नै बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो।

समूह चरणमा नेपाल र हङकङले समान ६ अंक जोडेको भए पनि उत्कृष्ट रनरेटका आधारमा नेपाल समूह विजेता बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय