spot_img

फेक टिकटक आईडी बनाएर ईभी स्कुटरका नाममा ठगी गर्ने तीन जना पक्राउ

spot_img
spot_img

काठमाडौं,२३ भदाै । सामाजिक सञ्जाल टिकटकमा नक्कली आईडी बनाएर सस्तो मूल्यमा ईभी स्कुटर तथा मोटरसाइकलका पार्टपुर्जा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय सन्दीप कुमार सिंह कुशवाहा, सप्तरीको राजविराज नगरपालिका–९ घर भई ग्वार्को बस्ने २१ वर्षीय सुमित दास र महोत्तरीको गौशाला नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २२ वर्षीय दिपुश सिंह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले टिकटकमार्फत सस्तो मूल्यमा ईभी स्कुटर तथा मोटरसाइकलका पार्टपुर्जा घरमै पुर्‍याइदिने प्रलोभन देखाएर ग्राहकलाई अग्रिम रकम पठाउन लगाउने गरेका थिए। रकम प्राप्त भएपछि भने ग्राहकसँग सम्पर्कविहीन हुने गरेको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा प्रहरीले उनीहरूलाई भदौ १६ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा उनीहरूले ‘Scooter_showroom’, ‘Bikersgearnp’ र ‘asma_collection_online’ नामका नक्कली टिकटक आईडी बनाएर विभिन्न सामानको प्रचार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीहरूले टिकटक प्रोफाइलमा ह्वाट्सएप नम्बर राखेर ग्राहकसँग कुराकानी गर्ने र प्रि–बुकिङका नाममा नागरिकताको प्रतिलिपिसमेत माग्ने गरेको पाइएको छ। ग्राहकबाट नागरिकता प्राप्त भएपछि त्यसमा अर्कै व्यक्तिको फोटो राखेर शंका नहुने गरी दुरुपयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, ग्राहकबाट प्राप्त नागरिकताको दुरुपयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमार्फत अर्कै व्यक्तिको फोटो राखेर विभिन्न डिजिटल वालेटको केवाईसी भेरिफाइ गर्ने र खाता खोल्ने गरेको समेत पाइएको छ। उनीहरूले N-Cash, IME Pay, City Pay र Cell Pay लगायतका डिजिटल वालेट प्रयोग गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै एआईको प्रयोगबाट भुक्तानीको नक्कली रसिदसमेत तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने गरेका थिए।

पक्राउ परेका तीनै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय