काठमाडौं,२३ भदौ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको वर्ल्डलिंकले विज्ञप्तिमार्फत जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सहयोग केवल व्यावसायिक गतिविधिको हिस्सा नभई मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा गरिएको हो।
‘देशका नागरिक समस्यामा परेका बेला उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले सहयोग गरेको हो,’ वर्ल्डलिंकले जनाएको छ।
हालैको विनाशकारी बाढीबाट वर्ल्डलिंकको आफ्नै नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ। त्यसका बाबजुद पनि प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको कम्पनीको भनाइ छ।





