बीरगन्ज,२३ भदौ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्क्याएको आरोपमा नेकपाका नेता अशोक यादव पक्राउ परेका छन्।
मधेश प्रदेश प्रहरीका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन्। प्रहरीले उनलाई लामो समयदेखि खोजी गरिरहेको जनाएको छ।
यादवमाथि २०८२ साल असारमा तत्कालीन एसपी खड्कालाई टेलिफोन गरेर अशब्द प्रयोग गर्दै धम्की दिएको आरोप छ। उक्त टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
अडिओमा यादवले एसपी खड्कालाई तराईमा लुट्न आएको ‘लुटेरा’ भन्दै धम्क्याएको सुनिएको थियो। घटना सार्वजनिक भएपछि प्रहरीले उनको खोजी सुरु गरेको भए पनि यादव फरार रहेका थिए।
हाल उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डीआईजी अधिकारीले जानकारी दिएका छन्। प्रहरीलाई धम्क्याएको आरोप लागेको समयमा यादव जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए। पछि उनी नेकपामा प्रवेश गरेका थिए।





