वीरगञ्ज,२५ भदौं। वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवन निर्माण कार्य छिट्टै अगाडि बढ्ने भएको छ।
भवन निर्माणको अवस्थाबारे अनुगमन तथा आवश्यक समन्वयका लागि वीरगञ्ज पुगेकी मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको विशेष उपस्थितिमा जिल्ला समन्वय समितिमा भएको छलफलमा निर्माण कार्यलाई तत्काल अगाडि बढाउने विषयमा प्रतिबद्धता जनाइएको हो।
जिल्ला समन्वय समितिका अध्यक्षको अध्यक्षतामा बसेको बैठकमा मन्त्री थापा, श्रम तथा यातायात मन्त्रालयका सचिव रंजित कुमार यादव, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण प्रसाद कुर्मी , यातायात व्यवस्था कार्यालयका प्रमुख कुसेश्वर साहलगायतको उपस्थिति रहेको थियो।

बैठकमा भेडियाही क्षेत्रमा रोकिएको निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने, सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने तथा तोकिएको समयभित्र काम सुरु गराउन जिल्ला समन्वय समितिले विशेष पहल गर्ने विषयमा छलफल भएको थियो।
यसैगरी, यातायात व्यवस्था कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न नभएसम्म तत्कालका लागि जिल्ला समन्वय समितिको भवनबाट कार्यालय सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ।
जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफका अनुसार प्रतिमा चौकमा संचालनमा रहेकाे यातायात कार्यालय समन्वय समितिकाे पुरानाे भवनबाट संचालन गर्ने बिषयमा पहिला नै सहमती भइसकेकाे छ । मन्त्री थापाले भवन निर्माण कार्यलाई आवश्यक समन्वय गरी छिट्टै अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन्।





