बीरगन्ज,२६ भदाै । कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा बीरगन्जका चार लायन्स क्लबले संयुक्त रूपमा ‘अन्नदान कार्यक्रम’ आयोजना गरेका छन्।
लायन्स क्लब अफ बीरगन्ज क्यापिटल, लायन्स क्लब अफ बीरगन्ज प्रभु, लायन्स क्लब अफ बीरगन्ज परिवार र लायन्स क्लब अफ बीरगन्ज कुटुम्बको संयुक्त आयोजनामा शुक्रबार बिहान गीतामन्दिर र गहवामाई मन्दिर परिसरमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूलाई खाद्यान्न वितरण गरिएको आयोजकले जनाएको छ। सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजन लायन्स क्लब अफ बीरगन्ज प्रभुकी अध्यक्ष लायन सरिता सिंहले गरेकी थिइन्।
कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न समुदायलाई सहयोग गर्नुका साथै सेवाभावलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आयोजकका अनुसार कार्यक्रमले आवश्यकतामा रहेका व्यक्तिलाई तत्काल सहयोग पुग्नुका साथै समुदायमा सामाजिक सेवा र मानवीय सहयोगको भावना अभिवृद्धि गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘सेवा विथ प्राइड’को भावनाअनुसार आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।





